असारमै मेलम्ची ल्याउन जोडबल


नेपाल समाचारपत्र, काठमाडौं  ।

मेलम्ची खानेपानी विकास समितिले गएको पुस महिनामा श्वेतपत्र जारी गर्दै मेलम्ची खोलाको पानी चालू असार मसान्तभित्र ल्याउने लक्ष्य तय गरेको छ ।

समितिले तोकिएको लक्ष्य पूरा गर्न निर्माण कम्पनीले पनि जोडबल गरिरहेको छ । असार मसान्तभित्र वैकल्पिक व्यवस्था गरेर भए पनि उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना समितिको रहेको समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले बताउनुभयो ।

मेलम्ची खोलाको पानी ल्याउन अन्तिम चरणको काम भइरहेको उहाँले बताउनुभयो । सुरुङमा गेट जडानको काम भइरहेकाले त्यो काम सम्पन्न भइसकेपछि सुन्दरीजलसम्म सुरुङमा पानी चलाउन सक्ने उहाँको दाबी छ ।

‘ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा टनेल गेट जडानको काम भइरहेको छ । गेट जडानको काम सम्पन्न भइसकेपछि सुुरुङमा पानी चलाउन सकिन्छ ।’ –उहाँले भन्नुभयो ।

टनेल गेट जडानको ठेक्का पाएको भारतीय कम्पनीका दक्ष जनशक्ति लकडाउनका कारण उतै रोकिएपछि गेट जडानमा केही ढिलाइ भइरहेको उहाँले बताउनुभयो । ‘गेट जडानको काम त भइरहेको छ । तर, कम्पनीको दक्ष जनशक्ति भारतमै अड्किएको छ । नेपालकै अनुभवी कामदारलाई लगाउने तयारी भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।

समितिले गेट जडानका साथै वैकल्पिक व्यवस्थाबाट सुरुङमा पानी हाली कसरी सञ्चालन गर्न सकिन्छ भन्दै बुटवलमा रहेको नेसनल हाइड्रो इलेक्ट्रिकमा रहेको दक्ष जनशक्तिलाई परिचालन गराउने योजना बनाएको उहाँले बताउनुभयो ।

‘भारतीय दक्ष जनशक्ति उतै अड्किएपछि हामीले नेसनल हाइड्रोसँग छलफल गरिरहेका छौँ । चाँडै हामी त्यहाँको जनशक्ति प्रयोग गरेर भए पनि मेलम्ची ल्याउने योजनामा छौं ।’ –उहाँले भन्नुभयो ।

टनेल गेट जडान सम्पन्न भएपछि पानी सुरुङमा हाल्ने र करिब एक महिनासम्म परीक्षण अवधि रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुरुङमा पानी राख्नेबित्तिकै उपभोक्तालाई पानी खुवाउन सकिँदैन । सुरुङबाट पानी सञ्चालन हुने अवस्था पूर्णरूपमा हुने देखिएपछि त्यसमा केही कैफियत नदेखिएपछि मात्रै हामी सफल हुन्छौं ।’

समितिको मुख्य काम सुरुङको बाँध निर्माणको काम सक्न मात्रै बाँकी छ । अहिले कंक्रिट ढलाइको काम भइरहेको समितिले जनाएको छ । त्यसबाहेक सम्पूर्ण काम अन्तिम चरणमा आइपुगेकाले असारमा वैकल्पिक व्यवस्था गरेर भए पनि पानी ल्याउने चरणमा सरकार रहेको छ ।

‘बाँधको कामबाहेक लगभग अन्तिम चरणमा मेलम्ची आयोजनाको काम छ । असारमा जसरी पनि उपत्यकामा पानी ल्याउने हाम्रो जोड छ ।’ –समितिका सीडीई पन्तले बताउनुभयो ।

मुलुकभर लकडाउन शुरू भएपछि मेलम्चीमा काम गरिरहेको कामदार आ–आफ्नो घर फर्के पनि अहिले आयोजनामा झन्डै ५० जना चिनियाँसहित २ सय नेपाली श्रमिकले काम गरिरहेका समितिले जनाएको छ ।