कांग्रेसका कारण रोकियो संविधान संशोधन दोस्रो विधेयक

  कांग्रेसको आपत्ति


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालको नयाँ नक्सा जारी भएसँगै निशान चिह्न संशोधन गर्न सरकारले संसद्मा दर्ता गराएको दोस्रो संविधान संशोधन विधेयक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका कारण राकिएको छ । संविधान संशोधन विधेयक सर्वसम्मतरूपमा पारित गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेर छलफल गरे पनि कांग्रेसका कारण रोकिएको हो ।

बुधबार संविधान संशोधन विधेयक प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको थियो । तर कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकबाट मात्र नभई केन्द्रीय समिति बैठकबाट संंशोधन गर्ने निर्णय गराउनुपर्ने अडान लिएपछि सम्भावित कार्यसूचीबाट हटेको थियो । राष्ट्रिय महत्वको विषय बोकेको संविधान संशोधन विधेयक अगाडि नबढेपछि कांग्रेसभित्र नै सभापति देउवाको आलोचना भएको छ ।

बुधबार बस्ने संसद् बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७’ पेस गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले तयार पारेको थियो । तर, संसद् शुरू हुनुअघि नै कार्यसूचीबाट विधेयक हटेपछि आरोप–प्रत्यारोप शुरू भएको छ ।

सत्तारूढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्ष दल कांग्रेसकै आग्रहमा बुधबारको कार्यसूचिबाट हटाइएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकबाट संविधान संशोधनको विषय अनुमोदन गराउने विषय राख्नुभयो, कांग्रेसले निर्णय गरेलगत्तै प्रक्रिया अगाडि बढ्छ ।’

नेम्वाङले संविधान संशोधन विधेयक पास हुनेमा कुनै पनि आशंका नरहेको बताउँदै कांग्रेसले केही दिन समय मागेकाले प्रक्रिया अगाडि नबढेको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने कांग्रेसलाई दोष लगाउने षड्यन्त्र भएको बताउनुभएको छ । उहाँले सर्वदलीय बैठकमा भएको सहमतिमा कांग्रेस दृढ रहेको बताउनुभयो ।

प्रवक्ता शर्माले केन्द्रीय कार्य समितिको बैठकको बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेको जानकारी दिनुभयो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जारी गरेको नक्साअनुसार निशान छाप परिवर्तन गर्न विधेयक संसद्मा ल्याएको छ ।

कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले १३ र १५ गतेका लागि कार्यक्रम निर्धारण गरेको तर १४ गतेका लागि कार्यसूची निर्धारण नगरेको जनाएको छ ।

बुधबार नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत १४ गतेको बैठकले सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधनसम्बन्धी प्रस्ताव हटाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

संविधान संशोधनजस्तो विषयमा सरकार, प्रतिपक्ष र संसद्मा रहेका दलहरू एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्षी दललाई आरोपित गर्न खोज्ने कार्यलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

विज्ञप्तिमा संसदीय दलको यस्तो प्रवृत्तिको निन्दा गर्दै राष्ट्रिय एकताको भावनासाथ कार्य गर्न आग्रह गरिएको छ ।