शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कोभिड–१९ का कारण जारी लकडाउनले देशको उत्पादन, वितरण तथा आपूर्ति प्रणाली प्रभावित हुँदा अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव देखिन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैयमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले चालू आवको नौ महिनासम्म शोधनान्तरस्थिति ३६ अर्ब ६१ करोडले बचत रहेको जनाएको छ । विप्रेषण आप्रवाहमा कमी आउने क्रम शुरू भए तापनि आयातसमेत घट्दो क्रममा रहेका कारण आर्थिक वर्षको अन्त्यमा पनि शोधनान्तर बचतमा नै रहने राष्ट्र बैंकको अनुमान छ ।

त्यस्तै नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ५३ प्रतिशत रहेकोमा वार्षिक औसत मुद्रास्फीति ६ दशमलव ५० प्रतिशतको हाराहारीमा रहने अनुमान छ ।

गत चैतमा वार्षिक विन्दुगत आधारमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १५ दशमलव ३ प्रतिशत र निजीक्षेत्रतर्फ लगानीमा रहेको कर्जाको वृद्धिदर १५ दशमलव ४ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर १५ प्रतिशत रहने अनुमान छ ।