जीडीपी १ सय ६८ अर्ब नोक्सान हुने

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैयमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो अनुमान गरेको हो ।

राष्ट्र बैंकले चैत–वैशाखसम्ममा ७ अर्ब १६ करोडको निर्यात र सय अर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोडको निर्यात र २२९ अर्ब ३ करोडको आयात भएको थियो ।

त्यस्तै चैत–वैशाखसम्मको अवधिमा करिब ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको राष्ट्र बैंकको अनुमान छ । गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । गत फागुनमा ५ अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा चैतमा १ अर्ब ६० करोड प्राप्त भएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप संकलन र २२ अर्ब कर्जा लगानी गरेको अपरिष्कृत तथ्यांक सार्वजनिक गरेका छन् । वैशाख महिनामा बैंकिङ प्रणालीमा औसत ४९ अर्ब २ करोड अधिक तरलता रहेको छ ।

चैत–वैशाखसम्मको अवधिमा ३१ अर्ब ६९ करोड तरलता प्रवाह भएको छ । यसअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत् १ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ । सोही अवधिमा वाणिज्य बैंकहरूबीच १५३ अर्ब २० करोड र वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकहरूबीच बाहेक) ८ अर्ब ३ करोड अन्तर–बैंक कारोबार भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर– बैंक कारोबार दर चैतमा २ दशमलव १३ प्रतिशत रहेकोमा वैशाखमा ४ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना बनाएकोमा जेठ ९ गतेसम्म ४५ अर्ब बराबरको ट्रेजरी बिल, सय अर्ब बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्रसमेत गरी कुल १४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।