कैलाली त्रिनगर नाकाबाट मात्रै एकैदिन पाँच हजार नागरिक भित्रिए, डोटीमा थपियो चुनौती

0
Shares

विमल विष्ट, डोटी  ।

कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मंगलबार साँझ मात्रै पाँच हजार भन्दाबढी नागरिक एकै दिन भित्रिएपछि डोटीमा कोरोनाको चुनौती थपिएको छ ।

पाँचहजार नागरिक मध्ये डोटी जिल्लाका मात्रै दुई हजार ८७९ जना रहेका छन् । कामको सिलसिलामा भारतका बिभिन्न शहर गएका सुदूरपश्चिमेलीहरु अहिले दैनिक आ आफ्ना जिल्ला फर्किन थालेका छन् । जिल्ला प्रबेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौँ वटै स्थानीय तहले तयार पारेका ६७ वटा क्वारेन्टिनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् । भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहल पहल पनि बढ्दै गएको छ । उनीहरुलाई बिना चेक जाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टिनमा राख्न थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट नभएका कारण उनीहरुलाई बिना जाँच क्वारेन्टीनमा राख्न थालिएको हो ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआईसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडीकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५, पूर्वीचौकी गाउँपालिकामा १०३ जना गरेर कुल दुई हजार ८७९ जना राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा राखिएकाहरुमा महिला ७९ जना पुरुष दुई हजार ७८४ र बालबालिका १६ जना रहेका छन् । त्यस्तै जिल्लामा रहेका क्वारेन्टिनको बेड संख्या एक हजार २८३ , आईसोलेसन वेड संख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म ३६९ जनाको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जस मध्य ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

जिल्लामा दुई हजार ८२ जनाको आरडिटी परिक्षण गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र ४ जनाको मात्र पोजेटिभ आएको छ । केही दिन यतादेखि डोटी जिल्लामा भारत बाट आउनेको संङख्या दिनानु दिन बढीरहेको छ । भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौति देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट नागरिक आएको आएइ छन्, हामीलाई व्यवस्थापन गर्न हम्मे हम्मे भएको छ ।” भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर माबि, वडा नं १ को मगलेक माबी तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर माबि बुडर, बडीकेदारको बिपिनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारालगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ । कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीले उद्दार गरेर दैनिक जिल्लामा भित्रयाउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताउनुभयो । उहाँका अनुसार उद्दार गरिएकाहरुमा स–साना बाल बालिकाका, महिला तथा बृद्धहरु पनि रहेको छन् ।

भारतबाट आएका नागरिकलाई बिना जाँच क्वारेन्टिनमा राखिन थालेपछि जिल्लामा कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनस्याम पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्दार गर्नुपर्छ, तर बिना जाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।” जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनहरु डब्लुएचओको मान्यता अनुसार नभएका तथा क्वारेन्टीनमा राखिएकाहरुलाई चाहिने न्युनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ज्ञास, सुत्ने लगायतका व्यवस्था) समेत नभएकोले समस्या हुँने स्थिती देखिएको दिपायल राजपुर–४ का टेक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय क्वारेन्टिीन नाम मात्रका छन्, खानदेखि सुत्न समेत समस्या छ, क्वारेन्टिनमा बसेका लाई समस्या भएको छ ।” जिल्ला अस्पताल डोटीमा कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट नभएका कारण भारतका सिमाबाट उद्दार गरी ल्याएका नागरिकलाई बिना जाँच क्वारेन्टिनमा राखिएको छ ।

भारतिय सिमा क्षेत्रबाट उद्दार गरेर क्वारेन्टीनमा राखिएकाहरु भने निकै खुसि भएका छन् । भारतमा नरकिय जिवन जिउनु भन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भएपनि सहन गर्न सकिने भारतबाट काम गरी घर फर्किका जोरायल गाउँपालिकाको कारेन्टिनमा बसेका राजकुमार भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “अर्काको देशमा निकै दुःख पाए, यहाँ जस्तो दुःख भएपनि सहन गरेर बस्ने छौँ, हामी सुरक्षित छौँ ।” कोरोना तथा लिपुलेकको नक्साको बिबादका कारण भारतमा नेपालीहरुलाई दुःख दिइने र गाली गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । यहाँका क्वारेन्टिनहरु सरकारी मापदण्ड अनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वारेन्टिनहरुको केही दिन भित्र अनुगमन तथा निरिक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिनुभयो ।