मकवानपुरमा हावाहुरीको वितण्ड, रुखले थिच्दा २ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हावाहुरीले मंगलवार साँझ मकवानपुरका विभिन्न क्षेत्रमा बितण्डा मच्चाएको छ । हावाहुरीका कारण मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा रुखले थिच्दा २ जनाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–५, चैनपुरकी ५० वर्षीया वीरमाया प्रजा र वडा नम्बर–३ का ६ वर्षीय आयुष मगर छन् । घरनजिक बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर मृत्यु भएको थियो ।

प्रजाको घटनास्थलमा मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले रुखमुनि बसेका स्थानीय मानिकलाल बल, शम्भु सुनार घाइते भएको बताउनुभयो । घाइते बल र सुनारको उपचार भइरहेको छ ।

गाउँपालिकाका दर्जनौं घरमा क्षति पुगेको अध्यक्ष मल्लको भनाइ छ । हावाहुरीका कारण सरिखेतका २ जना घाइते भएको उहाँले बताउनुभयो ।

मकवानपुरका विभिन्न स्थानमा दर्जनौं घरमा क्षति पुगेको छ । हावाहुरीका कारण मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४, माझीखोलाका आधा दर्जन घरको जस्ताको छानो उडाएको छ । हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिकामा पनि एक दर्जन बढी घरँमा क्षति भएको छ ।

पश्चिम मकवानपुरको नगरोन्मुख क्षेत्र मनहरी गाउँमा पनि असर गरेको स्थानीयले बताएका छन् । हावाहुरीले मनहरी–८, बेलुवामा रुख भाँचेपछि महेन्द्र राजमार्गको मनहरी बजारमा जाम भएको छ । हावाहुरीले प्राथमिक स्वास्थ्य केन्द्रको आवासअगाडिको पिपल र मनहरी एफएमअगाडिको पलाँसको रुख पनि भाँचेको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा हावाहुरीले जनधनको क्षति गरेको छ । हावाहुरीले वडा नम्बर–४, ५, ६, ७, ८ र ९ वडामा दर्जनौं घरको छाना उडाएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको घलानले जानकारी दिनुभयो ।

हेटौंडा–६ को चौघडा र चुच्चेखोला, हेटौंडा–५ को पिप्ले र सानोपोखरासहित क्षेत्रमा समेत क्षति पुगेको छ ।