खोप नबन्दा मानव सभ्यता नै धरापमा

0
Shares

काठमाडौँ, (नेस) ।

कोरोना महामारी र त्यसका विकराल दुस्परिणाम भोग्न बाध्य मानव समाज यसबाट निजाद पाउन सकिनेमा सशंकित बन्दै गइरहेको छ । स्थिति जटिल छ, कोरोनाको खोप नबन्न पनि सक्छ, यो जति भयावह आशंका हो त्यति नै सत्य हुने संकेतहरू पनि आइरहेका छन् । यसले आगामी समयमा हामीले भाइरससँगै जीउने बानी बसाल्नुपर्ने परिदृश्यलाई अगाडि सारिरहेको छ । तर, यो सहज नहुने सम्भावनाको खतरा पनि त्यतिकै छ ।

अहिले लगातार कुनै न कुनै स्वास्थ्य संगठन वा मेडिकल इन्स्टिच्युटका माध्यमबाट यस विषयमा जानकारी आइरहेको हुन्छ कि कोरोना भाइरसको खोप तयार भइसकेको छ, बस त्यसको मानव परीक्षण बाँकी छ । वैज्ञानिकहरूका यी दाबी कति सार्थक हुन्छ त्यो भविष्यले नै बताउनेछ । अनिश्चित भविष्यले मानव सभ्यता नै खतरामा पुग्न सक्ने, ठूल्ठूला युद्ध निम्तिन सक्ने त्रासदीको कल्पनासमेत गर्न थालिएको छ ।
यसबीच डब्ल्यूएचओका प्रमुख मेडिकल अफिसरबाट यस सम्बन्धमा आएको नयाँ बयान पर्याप्त निरास पार्ने खालको छ । उनले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा कोरोना भाइरसका लागि अहिले नै कुनै खोप तयार हुने स्थितिमा नभएको बताएका छन् ।
यद्यपि विश्वको विभिन्न कुनाकाप्चाबाट कोरोना भाइरसको औषधि पत्ता लागेको वा खोप तयार भई मानव परीक्षण भइरहेको वा मानवमा परीक्षणका लागि खोप तयार भइसकेको समाचार आइरहेका छन् । तर, डब्ल्यूएचओका कोरोना भाइरस विशेष टोलीका डाक्टर डेविड नेबेरोले भनेका छन्– ‘हामीले ती कुराहरूमा यकिन गर्नुहुँदैन, जसमा कोरोना भाइरसको खोप तयार भइसकेको दावी गरिएको छ ।’
उनले अगाडि जोड्दै भने– ‘यो अहिले सम्भव नै छैन कि कोरोना भाइरसको भ्याक्सिन तयार भइसकेपछि केही महिनामै पूरै विश्वका नागरिकमा सही तरिकाले काम गर्न सक्छ र पीडितलाई संक्रमणबाट बचाउन सक्छ ।’

‘यो भाइरस एचआईभी एड्स जस्तै हाम्रो माझमा रहिरहन सक्छ र यसको चपेटामा आउनबाट जोगिन हामीले आफ्ना आनीबानीमै सुधार गर्नुपर्ने हुन्छ ।’ –उनले सचेत गराए । एचआईभी संक्रमण शुरू भएदेखि सन् २०१८ सम्ममा यस भाइरसबाट ७ करोड ४९ लाख संक्रमित भइसकेको तथ्यांकले देखाएको छ ।

यद्यपि उनले कोरोना भाइरसको खोप बन्न पनि सक्ने आशा पनि व्यक्त गरेका छन् तर त्यसमा धेरै लामो समय लाग्नेछ । अहिले भइरहेका प्रयासलाई हेर्ने हो भने कुनै पनि खोप प्रभावकारीरूपमा पूरै विश्वका मानिसमा काम गर्न सक्षम हुनेमा काफी हदसम्म असम्भव जस्तै देखिएको उनको मान्यता छ ।

आयरल्यान्डका डिपार्टमेन्ट अफ हेल्थका उपप्रमुख स्वास्थ्य अधिकृत डाक्टर रोनन ग्लिनको यस्तै बयान आएको छ– ‘हामी अहिलेलाई आगामी लामो समयसम्म कोरोना भाइरससँगै जीवनयापन गर्नेमा छौं र यो कहिलेसम्म जान्छ भन्न कठिन छ ।’

यसबीच चीनका वैज्ञानिकहरूले कोरोना भाइरस संक्रमण रोक्न सक्ने औषधि पत्ता लागेको दाबी गरेका छन् । चिनियाँ वैज्ञनिकहरूले कोरोना भाइरसविरुद्ध खोप बन्न कठिन हुन संकेत दिँदै यसको उपचारमा प्रभावकारी औषधि नै उपयोगी हुने बताएका छन् । चीनका प्रतिष्ठित बेइजिरू युनिभर्सिटीका वैज्ञानिकहरूले उनीहरूद्वारा परीक्षण गरिएको औषधिले संक्रमित बिरामी ठीक हुने मात्र नभई उनको शरीरमा केही समयका लागि रोग प्रतिरोधात्मक स्तरमा पनि वृद्धि हुने दाबी गरेका छन् । युनिभर्सिटीको बेइजिङ एडभान्स्ड इनोवेसन सेन्टर फर जिनोमिक्सका निर्देशक सनी सीले यो औषधि जनावरमा गरिएको परीक्षणमा सफल भएको जानकारी दिए ।

कोरोना संक्रमित मुसामा यो औषधि परीक्षण गरिएको र त्यसमा राम्रो नतिजा प्राप्त भएको उनले बताए । मुसामा न्युट्र्लाइजिङ एन्टिबडिज पठाइएकोमा पाँच दिनपछि ती मुसामा भाइरसको संख्यामा अत्यन्त कमी आएको देखियो । यसको अर्थ यो औषधिले राम्रो तरिकाले काम गरिरहेको छ भन्ने उनको निष्कर्ष थियो ।

जिनोमिक्सका निर्देशकले यो औषधिको क्लिनिकल परीक्षणको काम जारी रहेको जानकारी दिए । चीनमा कोरोना संक्रमणको मामिला अन्त्यन्त कम भइसकेकाले यसलाई अस्ट्रेलिया वा अन्य देशमा गरिनेछ । यो एन्टिबडीले कोरोनालाई रोक्नमा ठूलो भूमिका निभाउने अपेक्षा गरेको उनी बताउँछन् ।

चीनमा पहिले नै कोरोनाका पाँच औषधि मानवमा परीक्षण भइरहेको एक स्वास्थ्य अधिकारीले बताएका छन् । यसबीच विश्व स्वास्थ्य संगठनले खोप विकासमा १२ देखि १५ महिनाको समय लाग्न सक्ने चेतावनी दिएको छ ।

चीनका ती अधिकारीले प्लाज्मा थेरापीले पनि चीनमा राम्रो काम गरेको बताएका थिए । यसबाट ७ सय भन्दा धेरै विरामी ठीक भएका छन् । प्लाज्मा थरेपीले संक्रमित बिरामीमा राम्रो प्रभाव पारेको छ ।

यी सबैका बाबजुद कोरोना भाइरसबाट बच्नका लागि सबै सावधानीलाई गम्भीरतापूर्वक अपनाउनुपर्नेछ ।