कोरोना संक्रमणको उच्च जोखिम बढ्दै : विश्व स्वास्थ्य संगठन

0
Shares

काठमाडौ, (नेस) ।

नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढेसँगै मंगलबार नयाँ कोरोना संक्रमितको संख्या ९० जना थपिएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएको कुल संख्या ७ सय ७२ पुगेको छ । पहिलो केस कोरोनाको उद्गमस्थल चीनबाट नेपाल फर्किएका जनकपुरका एक युवामा माघ ९ गते देखापरेको थियो ।

नेपालले चैत ११ गते कोरोना संक्रमण देशव्यापी नफैलँदै समयमै लकडाउन गरे पनि व्यवस्थापन फित्तलो हुनु र पटक–पटक छिमेकी मुलुक भारतबाट खुला सिमाना हुँदै लुकीछिपी प्रवेश गर्ने व्यक्तिहरूका कारण थप जोखिम बढ्दै गएको छ ।

लकडाउनकै समयमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । एकैदिन ९० जना बढ्नु यो साताकै उच्च संख्या हो । अहिलेसम्म नेपालको ४६ जिल्लाका नागरिकमा कोरोना संक्रमण फैलिसकेको र अझ उच्च जोखिम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो ।

डा. देवकोटाले एकपटक संक्रमण भई निको भएकालाई पुनः संक्रमण हुँदैन भन्ने भ्रममा नपर्न र हिजो परीक्षणमा नेगेटिभ आएकालाई भोलि पोजेटिभ आउँदैन भन्ने भ्रममा पनि नपरी सबैलाई सुरक्षा अपनाएर लकडाउनको पालना गर्न अनुरोध गर्नुभयो । उहाँले अहिलेसम्म कोरोनाको कुनै पनि औषधि प्रमाणित नभएको कुनै व्यक्ति वा समूहले कोरोनाको औषधि भन्दै दिए भनेर नखानसमेत अनुरोध गर्नुभएको छ । उहाँले कोरोनाको औषधि भनेर खाँदा स्वास्थ्यमा अरू समस्या हुन सक्छ । त्यसैले औषधि भनेर जथाभावी नखान पनि अनुरोध गर्नुभयो ।

शुरूका दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा मात्र पीसीआर परीक्षण हुँदै आएकोमा अहिले २० भन्दा बढी स्थानमा ल्याब स्थापना गरी परीक्षण शुरू गरिएको र परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढेको छ । शुरूका दिनदेखि मंगलबारसम्म पुग्दा पीसीआर परीक्षण ५४ हजार ४ सय २४ पुगेको छ भने ९७ हजार ९ सय ६७ को आरडीटी परीक्षण गरिएको छ ।

नेपालको सन्दर्भमा सूचना सम्प्रेषणमा सञ्चारमाध्यमले खेलेका भूमिकाले स्वास्थ्य मन्त्रालयलाई पनि मार्गनिर्देश गर्ने भएकाले सूचना सम्प्रेषणमा जिम्मेवार भइदिन पनि डा. देवकोटाले अनुरोध गर्नुभयो ।

संक्रमित हुनेहरू महोत्तरी, जुम्ला, बारा, रौतहट, सिरहा, धनुषा, नेपालगन्ज, रूपन्देही, अर्घाखाँची, गुल्मी, कैलाली, अछाम, दाङ, पोखरा, सुर्खेतका रहेका छन् ।

६ सय १३ जनाको विभिन्न अस्पताल, स्वास्थ्य संस्था, आइसोलेसनमा राखी उपचार भइरहेको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण पुनः दोहोरिन सक्ने चेतावनीसहित सुरक्षा अपनाउन अपिल गरेको छ ।