२६ संस्थान नाफामा

0
Shares

काठमाडौं, (नेस) । 

सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूमध्ये २६ संस्थान नाफामा सञ्चालन भइरहेको देखिएको छ ।

नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३०६ दशमलव ५८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा शेयर धनी कोष र नेट वर्थ गत आर्थिक वर्षको तुलनामा २१ दशमलव शून्य १ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपियाँ बराबर पुगेको छ ।

समीक्षा अवधिमा संस्थानमा कुल लगानी गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ३६ प्रतिशतले वृद्धि भई ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख पुगेको छ । शेयर लगानी गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव ६७ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख रुपियाँ पुगेको छ भने ऋण लगानी १७ दशमलव २३ प्रतिशतले वृद्धि भई १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपियाँ बराबर पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति सकारात्मक रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा संस्थानको कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख भएकोमा गत आर्थिक वर्षमा २० दशमलव २९ प्रतिशतले वृद्धि भई ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको छ । खुद नाफा गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ३६ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७५/७६ मा ४८ अर्ब ७७ करोड ४१ लाख पुगेको छ ।

सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव २८ प्रतिशतले कमी आई जम्मा ९ अर्ब ४७ करोड ९ लाख रुपियाँ प्राप्त भएको छ । आर्थिक वर्ष २०७५/७६ मा सञ्चित नाफा र सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा क्रमशः ३ दशमलव ८३ प्रतिशत र २७ दशमलव ३३ प्रतिशत कमी आएको भए तापनि समग्र सञ्चित नाफा २८ दशमलव ९३ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६६ करोड ९१ लाख रुपियाँ बराबर पुगेको छ ।

यस्तै अस्तित्वमा रहेका ५ संस्थानको कारोबार शून्य रहेको र १३ संस्थान नोक्सानीमा रहेका छन् । जनकपुर चुरोट कारखाना, विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यावसायिकरूपमा सञ्चालन भएका छैनन् । नोक्सानीमा रहेका संस्थानमध्ये नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड सञ्चालनमा छैन भने नेपाल रेल्वे कम्पनी लिमिटेड निर्माणाधीन अवस्थामा रहेको छ ।