होल्डिङ गर्ने ठाउँ बनाउने महानगरको तयारी

42
Shares

न्यूज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले विभिन्न जिल्लाबाट नगरमा भित्रिनेहरुलाई राख्न होल्डिङ प्वाईट बनाउने तयारी थालेको छ । घरबाट फर्किएर आफ्नो कोठामा राति आएका मानिसहरुले गर्दा टोलटोलमा तनाव भइरहेको सन्दर्भमा महानगरपालिकाको सामाजिकध विकास समितिले १ देखि २९ वडामा होल्ड गर्ने ठाउँ बनाउन गृहकार्य गरिरहेको समितिका संयोजक दिनेश कार्कीले जानकारी दिनुभयो ।

समितिले प्रत्येक वडामा कम्तीमा एक वटा होल्ड गर्ने ठाउँ आवश्यक पर्ने निर्णय गरेको छ । समितिले १ देखि २९ वडालाई आ आफ्नो वडामा वडामा होल्ड गर्ने ठाउँ बनाउन भनेको छ । २४ वडामा होल्ड गर्ने ठाउँ सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको समितिका संयोजक दिनेश कार्कीले बताउनुभयो ।

‘ विभिन्न जिल्लाबाट आएका मानिसहरुको आरडीटी र पीसिआर परीक्षण नगरेसम्म होल्ड गर्ने ठाउँमा राख्ने छौं ।’ संयोजक कार्कीले भन्नुभयो । होल्ड गर्ने ठाउँ बनाएपछि रातिराति मानिसहरु आफ्नो डेरामा फर्किदा स्थानीय र डेरावालबीच भइरहेको तनाव पनि अन्त्य हुने पनि समितिका सदस्यहरुको भनाई रहेको छ ।

‘विदेशमा रहेका नेपालीहरु तत्काल स्वेदश फर्किएमा ५ हजार जति मानिसहरु ललितपुरमा आउने अनुमान रहेको छ । तिनिहरुलाई राख्न पनि होल्ड गर्ने ठाउँ चाहिन्छ नै ।’ संयोजक कार्कीले भन्नुभयो ।

त्यसैगरी समितिको अगुवाईमा विभिन्न जिल्लाबाट आएका मानिसहरुको आरडीटी परीक्षण गर्ने कार्य शुरु गरिएको छ । मंगलबार २८ जनाको आरडीटी परीक्षण गरिएको समितिले जनाएको छ । समितिका संयोजक कार्कीका अनुसार एक दिनको फरक पारी नियमित परीक्षण हुने छ ।

‘कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि परीक्षणको दायरा बढाउनु जरुरी रहेको उल्लेख गर्दै संयोजक कार्कीले भन्नुभयो ‘ त्यसका लागि महानगरपालिकामै आरडीटी केन्द्र स्थापना गरेका छौं । ’

१३ वडास्थित ज्यापू समाजको वृद्धाश्रम भवनमा पनि क्वारेन्टाईन बनाउने योजना स्थानीयबासीहरुको विरोधले गर्दा कार्यान्वन्वयन गर्न सकिरहेको छैन । त्यहाँका टोल सुधार समितिसंग समितिले पटक पटक छलफल गरिसकेको बताइएको छ ।

उनीहरुले त्यहाँ क्वारेन्टाईन सञ्चालन गर्ने विषयमा ११ बुँदे माग प्रस्तुत गरेको छ । ‘ सो मागको बारे समितिले अध्ययन गरिरहेको छ । हामी छिट्टै टुंगोमा पुगेर क्वारेन्टाइन सञ्चालन गर्न विश्वास दिलाउन चाहन्छौं ।’ संयोजक कार्कीले भन्नुभयो ।

समितिको अनुवाईमा हाल एन्फा बिल्डिङमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । कोरोना संक्रमित बिरामीसंगै आउने कुरुवाहरुलाई मात्र त्यहाँ राख्ने गरेको छ ।

लकडाउनको बेला फ्रन्टलाईनमा बसेर काम गर्ने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यस्वयंसेवी, स्वयंसेवकहरुको पीसिआर परीक्षण गर्ने समितिले तयारी गरेको छ । त्यसका लागि १ हजार किड खरिद गरिसकेको संयोजक कार्कीले जानकारी दिनुभयो ।

हालसम्म महानगरपालिकाका सबै जनप्रतिनिधि, सरसफाईका कर्मचारी तथा लगखेलका तरकारी तथा फलफूल बच्ने मानिसहरु गरी करिब ३ सय जनाको स्वाब परीक्षण गरिसकेको छ ।
संयोजक कार्कीका अनुसार समितिले पाटन अस्पतालमा पीसिआर परीक्षण गर्ने प्रविधि राख्ने बारे गृहकार्य गरिरहेको छ ।

२५ लाख रुपैयाँ पर्ने प्रविधि किनेर पाटन अस्पताललाई दिने बारे छलफल भइरहेको बुझिएको छ । लकडाउनले गर्दा प्राय अस्पतालमा आपतकालीन सेवा बाहेक अरु सेवा बन्द रहेको छ । ‘ मानिसहरु पनि अस्पताल पुग्न सकिरहेको छैन ।

यसलाई मध्यनजर गरी समितिले १ देखि २९ वडाका प्रत्येक वडा स्वास्थ्य क्लिनिकहरु सञ्चालन गर्ने निर्णय गरेको छ । ’ संयोजक कार्कीले भन्नुभयो । त्यस अनुसार क्लिनिकहरु सञ्चालनमा आईरहेको छ भने केही वडाहरुमा सञ्चालन हुने क्रम जारी रहेको समितिले जनाएको छ ।

क्लिनिकबाट ज्वरो आएमा, टाउको दुख्ने जस्ता रोगको लक्षण अनुसार औषधी दिदै आएको छ । ‘ त्यसैगरी लकडाउनको बेला मानिसहरु विभिन्न कारणले मानसिक तनावले ग्रस्त भएको पनि हुनसक्छ । तिनिहरुलाई पनि स्वास्थ्यकर्मीहरु मार्फत काउन्सिल गर्न भनेका छौँ।’ संयोजक कार्कीले भन्नुभयो ।

अवलोकन, तालिमको कार्यक्रमको बजेट कटाएर केही वडाले दीर्घ रोग भएका व्यक्तिहरुलाई औषधी वितरण गर्न शुरु गरेको छ । क्लिनिकमा खोप दिने कार्यक्रम पनि सञ्चालन गरेको छ । ‘आगामी वर्षमा जनस्वास्थ्य विषयलाई अधिकत्तम सम्बोधन गराउन पनि समितिले गृहकार्य गरिरहेका छौं ।’ संयोजक कार्कीले भन्नुभयो ।