स्वास्थ्य मन्त्रालयको स्वास्थ्यकर्मीप्रतिको दायित्व सूचना निकालेर निर्देशन दिने ?

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

कोरोना संक्रमणको मारमा फ्रन्टलाईनमा काम गर्दैआएका स्वास्थ्यकर्मी तथा चिकित्सक कर्मचारीहरु समेत संक्रमित हुँदैछन् । आवश्यकता अनुसारको सुरक्षा सामग्री, पिपिई, माक्स, ग्लोब्स, क्याप, चस्मा, भाईजर, सुकभर जस्ता अति आवश्यकीय सामग्रीको अभावमा जनसेवाका लागि जोखिम मोलेर सेवामा जुटेका स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा सरकारको ध्यान नपुगेको गुनासो बढ्दै छ ।

शनिवार त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत मनमोहन कर्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १५ चिकित्सकसहित झन्डै ४० भन्दा बढी नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई सोही दिनदेखि क्वारेन्टाइनमा स्थान अभावको निकै ठूलो चुनौति थपियो ।

त्रिवि शिक्षण अस्पतालमा अघिल्लो साता ईएनटी विभागमा उपचारका लागि भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि एक सय भन्दा बढी स्वास्थ्यस्थकर्मीका साथ अन्य बिरामी र बिरामी कुरुवा समेत सोही अस्पतालको क्वारेन्टाइनमा बसेकाले शनिवार क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्यकर्मीका लागि होटल नै खोज्नुपर्यो ।

कतिपय होटल संचालकहरु विदेशबाट आउनेका लागि प्याकेजमा होटल दिन तयार छन तर स्वदेशी त्यसमा पनि चिकित्सकहरूलाई क्वारेन्टाईनमा बस्न दिन समेत तयार देखिएनन् । बल्ल तयार भएकालाई पनि स्थानियको भिडले बस्न दिएनन् ।

बिरामीको उपचार गर्ने, जोखिम मोल्ने, घरभेटिको गालि खाने, समाजको अपहेलना सहनुपर्ने र अकस्मात क्वारेन्टाईनमा बस्नका लागि होटल खोज्ने सम्म चिकित्सक स्वास्थ्य कर्मी नै अघि सर्नुपर्ने अवस्थामा सरकारले के गर्छ ? आम नागरिकलाई क्वारेन्टाईन र आईसुलेसनको परिभाषा कस्ले बुझाउने ?

कोरोना संक्रमितको उपचारमा दिनरात नभनी आफ्नो मात्र नभै परिवारको समेत ज्यानको जोखिम मोलेर सेवामा खटिएका स्वास्थ्यकर्मीको बास र गाँसकै ठेगान नहुने गरि सरकारले के व्यवस्था मिलाएको छ भन्दै चौतर्फी रुपमा प्रश्न उठेको छ । नेपालमा कोरोना संक्रमणको पहिलो केस भित्रिएको पनि चार महिना पुरा भैसकेको छ ।

यतिञ्जेल विश्वको अवस्था हेरेर पनि सरकारले आवश्यक तयारी गर्नुको सट्टा कुर्सी, पद र कमिशनको पछाडि दौड्नमै समय खर्चिएको विज्ञहरुको ठम्याईलाई यो घटनाले पुष्टि गर्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि लगातार एक साता फ्रन्टलाइनमा खटिने चिकित्सक(स्वास्थ्यकर्मी अनिवार्य रुपमा दुई साता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भने रिपोर्ट नेगेटिभ आएपछि मात्रै सावधानीपूर्वक काममा फर्किनुपर्ने उल्लेख गरिएको छ ।

सरकारको झाराटार्ने खालको यो रवैयाले एकै पटक सयौको सख्यामा चिकित्सक स्वास्थ्यकर्मी क्वारेन्टाईनमा बस्नुपर्ने भयो र अस्पताल ठप्प हुने अवस्था आयो भने जिम्मेवार को भन्ने प्रश्न उठीरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा स्वास्थ्यर्मीको ड्यूटी मिलाउँन निर्देशन सहितको सूचना जारी गरेको छ । सूचनामा कोभिड–१९ महामारीका बेला स्वास्थ्य सेवालाई चुस्त बनाउन देशभरका अस्पतालहरुलाई निर्देशन दिएको छ ।

निर्देशनमा स्वास्थ्यकर्मी तथा सहयोगीहरुमै कोरोना संक्रमण भइरहेको र यसले नियमित सेवा प्रवाहमा असर नपर्ने गरि ड्यूटी मिलाउन मन्त्रालयले निर्देशनमा उल्लख गरिएकोछ, ‘अस्पतालहरुले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो ड्युटी लगाई (एउटा टोली एक हप्ता एउटा टोली अर्को हप्ता गरी) सेवा निरन्तरताको सुनिश्चता गर्न सूचना मार्फत निर्देशन दिईएको छ ।

सूचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (सचिवस्तर) को मिति २०७७। २। १२ को निर्णयका आधारमा जारी गरेको जनाएको छ ।