क्वारेन्टिनमा चर्पीको अभाव

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेण्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल वार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालवीच नेटवर्कमा गठित समितिले दिक्तेलवजारस्थित माटिकोरे कभर्ड हलस्थित क्वारेण्टिनको अनुगमन गरेको हो ।

मंगलवार विहान गरिएको अनुगमनको क्रममा पर्याप्त चर्पी नभएको पाईएको समितका संयोजक पुर्णमायाँ तामाङले वताउनुभयो । ३ महिला सहित १९ जना रहेको क्वारेण्टिन स्थलमा महिला र पुरुषको लागि एक–एक गरी दुई वटा मात्र चर्पी रहेको पाईएको संयोजक तामाङको भनाई छ । क्वारेण्टिन सञ्चालन तथा व्यवस्थापन गर्न वनेको मापदण्ड, २०७६ बमोजिम क्वारेण्टिनमा वस्ने तीन व्यक्ति वरावर एक चर्पीको व्यवस्था हुनुपर्ने उल्लेख छ । यस्तै, महिला र पुरुषका लागि एउटै हलमा त्रिपालको वार लगाई दुई कोठा वनाईको छ । उक्त क्वारेण्टिनमा ३६ वेड रहेका छन् ।

यसैवीच, अनुगमन समितिको मंगलवार विहानै वसेको वैठकले जिल्लास्थित दश वटै स्थानीय तहका मानव अधिकार अवस्था अनुगमन गर्ने निर्णय गरेको छ । ७ सदस्यीय समितिले वर्तमान जटिल परिस्थतिमा कोभिड–१९ विरुद्द लड्न नेपाल सरकारवाट भईरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताका अधिकार लगायतका अवस्थाहरुको अनुगमन गर्ने जनाईएको छ ।

अनुगमन समितिले अभिब्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकका कर्तव्य लगायत कोभिड–१९ वाट प्रभावित अन्य मानव अधिकारका अवस्थाको अनुगमन गरी स्थानीय स्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने तथा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरुमा तथ्य तथा सूचनाहरु सम्प्रेषण गर्ने जनाईएको छ ।