दुई ट्रिपरले एकैसाथ ठक्कर दिँदा ड्युटीमा खटिएका सईको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

गएराति काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आएका दुई ट्रिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शंखधर चोकस्थित ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ ।

आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा सई निमबहादुर घर्तीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । ४५ वर्षीय घर्ती पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेपनि महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत थिए ।

तीव्रगतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली ट्रिपर र सोही ट्रिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नम्बरको ट्रिपरले थिमिचोकमा सडकको रेलिङ भाँच्दै ड्युटीमा खटिएका सई घर्तीमगरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो । सई निमबहादुर घर्तीमगरको स्थायी घर दाङको रामपुर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार भएका ट्रिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई कौशलटारबाट र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई सल्लाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गिरीले बताउनुभयो ।
अनुसन्धानमा टिपर चालक सैंजूले मादक पदार्थ सेवन गरेको र दुवै चालकको लापरवाहीका कारण दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।