खानी पत्ता लाग्नुको रहस्य: पच्चीस धार्नी फलाम

94
Shares

घनश्याम बगाले,नवलपरासी ।

तात्कालीन पाल्पा गौंडाले ऐतिहासिक समयमा हरेक वर्ष बुझ्ने पच्चिस धार्नी फलामले कुनै समय पूर्वी नवलपरासीमा गुणस्तरीय फलाम खानी थियो भन्ने जनश्रुति पुष्टि भएको छ । महाभारत पर्वतमा पर्ने हुप्सेकोट ५ धौवादी क्षेत्रमा खानी तथा भूगर्भ विभागले गरेको पछिल्लो अध्ययनले यहांको १ सय ६० हेक्टर भूभागमा करिव १० करोड टन फलामको विशाल भण्डार रहेको पत्ता लगाएको हो ।

ऐतिहासिक तथ्यसंगै २०६० को दशकमा पेट्रो केमिकल्स र कोलको खोजिमा रहेको एक अन्वेषक टोलीलाई स्थानीयले सतहमै रहेका राता चट्टान र फलामका धाउ बारे बताए पछि यहां फलाम खानीको अध्ययन थालिएको थियो ।

आर्थिक वर्ष ०७२/७३मा खानी तथा भूगर्भ विभागले गरेको विस्तृत अध्ययनले पश्चिममा नाम्जाकोट देखि पुर्वमा बोझाफेदी र उत्तरमा लाहापे, दक्षिणमा खानी गांउ, रुम्सी सम्मको क्षेत्रमा फलाम रहेको देखाएको छ । नाम्जाकोट र पोखरी नजिक खानीगाउंको फलामे प्राचिन धाउ र यससंगै जोडिएर रहेको विशाल चट्टानमा २० देखि ४० प्रतिसत सम्म फलाम रहेको यसको पछिल्लो अध्ययनले पुष्टी गरेको हो ।

परनिर्भरताले देश पछाडी धकेलिदै जादा आफ्नै स्रोत साधनलाई खोजी गरी आत्मनिर्भर हुन समयले पाठ सिकाएसंगै सरकारले यहां गत वर्षनै धौवादी फलाम खानी लिमिटेड स्थापना गरेको छ ।लामो समय चाईनामा भएको फलामे तत्वको प्रारम्भिक अध्ययन र परीक्षण पछि सरकारले पूर्वी नवलपरासीमा ठूलो परिमाणमा गुणस्तरीय फलाम छ भन्ने कुरा निश्चित गरेको हो ।

अघिल्लो वर्ष फलामको ब्यवसायिक उत्खनका लागि पूर्वाधारको तैयारी भन्दै सरकारले यहां ठूलै रकमको बजेट विनियोजन गरेको थियो । सरकारले हालै आफ्नो निती तथा कार्यक्रममा आगामि वर्ष आवश्यक पूर्वाधार निर्माण तथा मेसिनरी जडान गरी धौवादी फलाम कम्पनीबाट उत्पादन सुरु हुने जनाएको छ ।

त्यसो त फलाम खानीको अध्ययन सुरु भएसंगै सरकारमा आएका हरेक उद्योग मन्त्रीहरुले यसमा थप ध्यान दिई धौवादी क्षेत्रको स्थलगत अवलोकन गरेर खानी स्थापनामा भूमिका खेल्दै आएका थिए ।

 

प्रारम्भिक दिनमा खानी विभागका भूगर्भविद नरेश महर्जन, त्यस पछि नारायण बास्कोटा सहितका विज्ञ टोलीले पनि महिनौ लगाएर यस क्षेत्रमा फलाम खानीको विस्तृत अध्ययन गरेको हुन् । अध्ययनको क्रममा यहां हेमाटाईट च्यानलहरु १ सय मिटर गहिरा, ३ देखि ५ किमी उत्तर दक्षिणको क्षेत्रमा ३० मिटर चौडा तथा १० कि.मी. लम्वाईमा फैलावट रहेको पाईए पछि फलाम उत्खनन्मा सर्वत्र चासो बढेको थियो ।यसै क्रममा भूगर्भ विदहरुले सुरुमा पश्चिम नाम्जाकोट देखि पोखरी सम्मको १ हजार २ सय ७५ मिटरको १ सय हेक्टर क्षेत्रलाई विभिन्न च्यानल सेक्सनमा विभाजन गरी अध्ययन गरेका थिए ।

अध्ययन अन्वेषणकै क्रममा विज्ञहरुले विभाजित च्यानल स्याम्लिड.मा ५८ प्रतिसत सम्म अविछिन्न हेमटाईट बेण्डहरु भेट्टाएका थिए । पछिल्लो अन्वेषणमा थपिएका कतिपय विभाजित च्यानलबाट ६७ रासायनिक र २ सय ८७ चिप स्याम्पल निकालेर खानी तथा भूगर्भ विभागले अध्ययन गरेको थियो ।

फलामको गुणस्तरलाई १८ प्रतिसत देखि माथि लिइने भए पनि ३० देखि ५८ प्रतिसतको हेमाटाईट वोर लाई उत्तम मानिने विज्ञहरु बताउछन् । चिनको छेन्दुमा भएको प्रयोगशाला परीक्षण तथा अध्ययनमा यहांको चट्टानमा उत्खनन योग्य आईरन तत्व पाईए पछि सरकार फलाम खानी स्थापनामा कस्सिएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राम प्रसाद घिमिरेले परीक्षणका लागि पठाइएका चट्टानी नमूना चाईनामा परीक्षण भईरहेको र यसको अन्तिम प्रतिवेदन छिट्टै प्राप्त हुने बताउनु भयो ।

विदेशमा गरिने प्रभावकारी फलाम तत्व मापन मेट्रोलोजिकल टेष्टले यसको गुणस्तर तथा उत्खनन योग्य छ छैन र्निक्यौल गर्न विभागले १८ कुईन्टल चट्टानको नमूना चिन पठाएको थियो । फलाम खानीका लागि चिनमा भइरहेको रासायनी तथा ब्यवसायिक अध्ययन मध्ये क्वालिफाइड. टेस्टको अन्तिम प्रतिवेदन आउन कोभिड १९ प्रभाव कै कारण ढिलाई भएको बुझिएको छ ।

खानी संचालनका लागि कम्पनीले तत्कालै थाल्नु पर्ने काम मध्ये फलाम खानी क्षेत्रको रेखांड.कन र खानी संचालनका लागि आवश्यक जग्गा अधिग्रहण प्रमुख रहेको छ । रेखाडि.कत क्षेत्र भित्र खनिज प्रशोधन र धातु प्रशोधन स्थल एकिन गर्न देशमा जारी लकडाउनले असर पारेको कम्पनीका निमित्त कार्यकारी कृष्णदेव झाले बताउनु भयो ।

समुद्र सतह देखि १ हजार ३ सय मिटर उचाईमा रहेको यस खानी क्षेत्र नजिक नाम्जाकोट, रुम्सी, चारघरे, पोखरी, बसेनी, कुईखोला, राम्चे, धौवादीमा मगर समुदायका प्राचिन सांस्कृति वस्तीहरु रहेकाछन् ।

फलाम खानी स्थापनाको खवरले यस वरपरको पहाडी वस्तीमा बाटो विजुली पुग्ने र रोजगारी पाईने कुरामा स्थानीयहरु धेरै आशाबादी बनेकाछन् ।यहां चाईने विद्युत लाईनको विस्तार र वन बुट्यान हटाउने लगाएत आवश्यक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तैयारीको जिम्मा फलाम कम्पनीकै रहेको छ ।

फलाम कम्पनी स्थापनासंगै यहांको मुख्य लोक मार्गबाट २२ किमी दुरीमा रहेको खानी स्थल सम्म बन्ने करिव १४ किमी लामो पहुचमार्ग निर्माण कार्यको थालनी भएको छ । कुनै बेला यहां निकै चलन चल्तीको फलाम खानी थियो भन्ने जनश्रुतिको प्रमाण यहां भासिएको सुरुंग नाम्जाकोट वरपर फलाम गाल्दा मिल्किएका किट र धौवादी भन्ने गाउंकै नाउंले पनि दिईरहेकाछन् ।

यहांको प्राचिन फलामे धौको सुरुंग भित्रैबाट पहिरो गई ध्वस्त भएको करिव डेढ सय वर्ष पछि सरकारी तवरबाटै फलाम खानी स्थापना हुनुले स्थानीयमा खुसियाली छाएको हो ।

यसै सम्वन्धमा स्थानीय सरकार, हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे खानी स्थापनाले पालिकामा खुसीको संचार भईरहदा यहांका बरदान गिरुवारी र पत्थर खोलाको जलाधार क्षेत्र संरक्षणमा चासो ब्यक्त गर्नुहुन्छ ।

पालिका भित्र जनताको साझा सरोकार प्राचिन गाउ बस्तीका पानीका स्रोत, कुवा पधेरो, कुलोपैनी र नहर फलाम उत्खननको चपेटामा परी नपुरिउन् पाण्डेको भनाई छ ।

यहां पाईएको बाह्रैमासको सिंचाई सुविधा र देउरालीको तरकारी पकेट क्षेत्रको हराभरालाई बचाई राख्न यी खोला र पहाडी हरिया वन बुट्यानले भूमिका खेलेकाछन् ।
कम्पनी स्थापनासंगै फलाम खानी लिमिटेडले बनाउदै गरेको वातावरणीय प्रभाव मुल्यांकन तथा बिस्तृत परियोजना प्रतिवेदन नहेरे सम्म आफूहरु यस विषयमा ढुक्क हुन नसकेको पाण्डे बताउनुहुन्छ ।

यसरी नै ऐतिहासिक तथ्य केलाउदा देश भित्र करिव ६० जिल्लाका विभिन्न स्थानमा यस्तै फलामका प्राचिन खानीहरु संचालनमा थिए । यीनै खानीबाट फलाम निकालेर यहांका गाउं घरमा हसिया, फाली, कुटो, कोदालो, बन्चरो, ताप्के र मानापाथी बनाएर कतिपय स्थानीयको जीविका चलेको थियो ।यही क्रममा ऐतिहांसिक सेनवंशको प्राचिन प्रभाव क्षेत्र यहांबाट उत्पादित २५ धार्नी फलाम हरेक वर्ष पाल्पा पठाउने पुरानो चलन रहेको बताईन्छ । यसै गरी खानीबाट फलाम निकालेर डल्ला बनाई अन्य राजा महाराजलाई पाउर पठाउने गरेको जनश्रुति पनि यहां ताजै रहेको छ ।