स्वास्थ्यमन्त्रीको कोरोना परीक्षण


नेपाल समाचारपत्र, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य अनुसन्धान परिषद्लगायतले अयोग्य भनी प्रयोग नगर्न सुझाव दिएको र्यापिड टेस्ट किटको प्रयोग बढिरहेको छ । यो परीक्षण भरपर्दो नभएको र जनमानसमा भ्रम पैदा गरिरहेको अवस्थामा यही टोलीले जसरी पनि र्यापिट परीक्षण नै गर्ने अडान लिएर ठेकेदारलाई खुसी बनाउँदै छ ।

सर्वसाधारण जनतालाई र्यापिट टेस्ट गरेको सरकारले स्वास्थ्य मन्त्रालय तथा मन्त्रीलाई पीसीआर परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालदेखि राज्यमन्त्री नवराज राउत, सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलगायत मन्त्रालयका उच्च पदस्त व्यक्तिहरूको मन्त्रालयभित्रै कोराना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।

जेठ ५ गते मन्त्रालयकै हेल्थ इमरजेन्सी अपरेसन सेन्टरमा आयोजित बैठकमा सहभागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका उच्च पदस्थ व्यक्तित्वहरू अत्तालिएका छन् । त्यसैले मन्त्रालयका मन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरू यति बेला उहाँसँगै बसी बैठक बसेका कारण पीसीआर परीक्षणमा उत्रेका हुन् ।

संक्रमित चिकित्सक फ्रन्ट लाइनमा बसेर कोरोनाको शुरुआती दिनदेखि काम गरेका व्यक्ति हुन् । उहाँसँगै बैठकमा बस्नेहरूको कन्ट्रयाक ट्रेसिङकै क्रममा स्वास्थ्यमन्त्री ढकालका साथमा सयभन्दा बढीकोे टोली आइतबार स्वास्थ्य मन्त्रालयमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब दिएका छन् ।

जेठ ५ को बैठकमा २० जना सहभागी भए पनि सेकेन्डरी कन्ट्याक्टमा रहेकाहरूले पनि परीक्षण गर्न माग गरेपछि संख्या बढेको कारण यति संख्या पुगेको मन्त्रालय स्रोतले जनाएको छ । स्वास्थ्यमन्त्री, कर्मचारी नै संक्रमित भए भने कोरोना संक्रमितको उपचार कसले गर्ने ?

सुदूरपश्चिमलगायतका जिल्लामा धमाधम दिनमा २ हजारभन्दा बढी नेपाली भारतबाट आइरहेका छन् । उनीहरूको भने न स्वास्थ्य परीक्षण न त, खाने–बस्ने नै टुंगो छ । के ती नागरिकको पनि मन्त्री, सचिव, महानिर्देशकको जस्तै कोरोना परीक्षण पीसीआर विधिबाटै गर्नुपर्ने हैन र ? जो रेडजोनमा परेका छन् र महिनौंदेखि पीडा भोगेर नेपाल भित्रिएका छन् ।

उनीहरू संक्रमित भए भने गाउँ, बस्ती, जिल्ला मात्र नभई देशलाई पूरै संक्रमित बनाउने सम्भावना छ । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयका उच्च पदस्थको स्वास्थ्य अवस्था मात्र तन्दुरुस्त राख्ने नभई ती नागरिकको स्वास्थ्य अवस्थाका बारेमा पनि ध्यान दिनुपर्ने कुरामा विज्ञहरूले जोड दिँदै आएका छन् ।

संक्रमित चिकित्सक पाटन अस्पतालको आइसोलेसनमा उपचार गराइरहनुभएको छ ।