अभिलेखालयमा अझै पुगेन नेपालको नक्सा


ईश्वरराज ढकाल, काठमाडौं ।

नेपालको महत्वपूर्ण सामग्री संरक्षण गर्ने दायित्व बोकेको राष्ट्रिय अभिलेखालयमा हालसम्म मुलुकको नयाँ नक्सा पुगेको छैन । अभिलेखालयले सक्कल नक्सा नपाएपछि नयाँ नक्सा पाऊँ भनेर पत्र लेख्ने तयारी गर्दै छ ।

अभिलेखालयले नै उपलव्ध गराएको प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर राजनीतिक र प्रशासनिक नक्सा तयार पारेको सरकारले नक्सा सार्वजनिक भएको एक साता पुग्दा पनि अभिलेखालयलाई उपलब्ध गराएको छैन ।

यही जेठ ४ गते सार्वजनिक भएको नयाँ नक्सा अभिलेखालयले नपाएको बताएको हो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्रधानाङ्गले केही दिन अझै कुर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेख्ने बताउनुभयो । अभिलेखालयमा नेपालको सन्धि–सम्झौता, सिमाना, नेपालको संविधानलगायत महत्वपूर्ण सामग्री वातानुकूूलितरूपमा संरक्षण गरी राखेको छ ।

यसअघिका सरकारले भारतले तयार गरी नेपाललाई हन्तान्तरण गरेको नक्सा मात्र अभिलेखालयमा छ । ‘हामीसँग पुरानो नक्सा नभएको होइन, भएका सबै नक्सा सार्वजनिक नगर्ने छापसहित राखिएका छन् ।’ –प्रधानाङगले भन्नुभयो ।

अभिलेखालयमा एकीकृत गरिएको सीमास्तम्भको नक्सासमेत उपलब्ध गराइएको छैन । एउटै नभएर छुट्टाछुट्टै सीमास्तम्भको नक्सा छन् । नेपालको नयाँ नक्सा सुरक्षित गर्ने दायित्व अभिलेखालयको भएकाले सरकारले नक्सा उपलब्ध गराउनुको विकल्प छैन ।

अभिलेखालयमा सातौं शताब्दीदेखि हालसम्मको डकुमेन्ट सुरक्षित छ । करिब ३० हजार हस्तलिखित, ११औं १२औं शताब्दीदेखि १९औं शताब्दीसम्मका इतिहास धर्म र संस्कृतिसँग सम्बन्धित तिब्बती लिपि एवं भाषाका करिब ८ हजार हस्तलिखित एवं ब्लकप्रिन्ट ग्रन्थ छन् ।

त्यस्तै राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, देशका विभिन्न भू–भागमा अवस्थित मठ–मन्दिर तथा गुम्बाहरू तथा विभिन्न व्यक्तिको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरूको माइक्रोफिल्म गरी संग्रह छ ।