क्वारेन्टाइनको अभाव झेल्दै ललितपुर, परीक्षणको दायरा फराकिलो बनाऊ


सुनील महर्जन, ललितपुर

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ललितपुरमा आवश्यक मात्रामा क्वारेन्टाइन अभाव रहेको पाइएको छ ।
भविष्यमा कोरोना महामारासँग जुध्नका लागि क्वारेन्टाइन ओइसोलेसनलगायत पूर्वाधारहरू आवश्यक छ ।

ललितपुर महानगरपालिका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरूलाई राख्ने क्वारेन्टाइनको अभाव रहेको छ ।

सातदोबाटोस्थित एन्फामा बनाइएको क्वारेन्टाइन पाटन अस्पतालको सिफारिस गरेका कोरोना संक्रमितलाई मात्र राख्ने गरेको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताउनुभयो ।

महानगरपालिका वडा नं १३ स्थिति ज्यापू समाजको वृद्धाश्रम भवन क्वारेन्टाइनका रूपमा प्रयोग ल्याउने भनेर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभए पनि स्थानीयको विरोधका कारण सो ठाउँलाई क्वारेन्टाइनका रूपमा सञ्चालनमा ल्याउन सकिरहेको छैन । यस विषयमा स्थानीय र महानगरपालिकाबीच पटक–पटक वार्ता भइसकेको छ ।

त्यसै गरी गोदावरी नगरपालिकाले लेले प्राथमिक स्वास्थ्य केन्द्र, चापागाउँस्थित बज्रवाराही अस्पतालमा क्वारेन्टाइन बनाएको छ भने लेलमा क्वारेन्टाइन बनाउन सम्भाव्यता अध्ययन कार्य जारी राखेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो । महालक्ष्मी नगरपालिका र, तीनवटा गाउँपालिकामा क्वारेन्टाइन छैन ।

लकडाउनको ५०औं दिनपछि काठमाडौं उपत्यकासँगै ललितपुरमा कोरोना संक्रमित देखिएको र बाहिरी जिल्लाबाट आउनेको संख्या बढिरहेको छ । यस्तो अवस्थामा पर्याप्त मात्रामा क्वारेन्टाइन हुनुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

ललितपुरमा अहिले १ जना संक्रमित फेला परेका छन् । उपत्यकामा ‘कोरोना परीक्षणको दायरालाई फराकिलो र तीव्र बनाउनुपर्ने’ जनस्वास्थ्य विज्ञहरूले औंल्याउँदै आएका छन् ।

कोरोना परीक्षणसँगै उपचार नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन, अन्य स्वास्थ्य पूर्वाधार तयार गरेर बसेका भविष्यमा जोखिम आएमा जुध्नका लागि सहज हुने विज्ञहरूले भन्दै आएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ । तर, लकडाउनकै बीचमा पनि कोरोना प्रभावित जिल्लाबाट उपत्यकामा विभिन्न नाका हुँदै पैदल र सवारीमार्फत भक्तपुर, ललितपुर र काठमाडौंमा मानिस प्रवेश गर्ने क्रम तीव्ररूपमा चलिरहेको छ ।

घनाबस्ती धेरै जनसंख्या भएको ठाउँमा बिनापरीक्षण मानिसको अनियन्त्रित प्रवेशले उपत्यकामा कोरोनाको जोखिम बढाएको जनस्वास्थ्यविद् बताउँछन् । त्यसैले उपत्यकामा कोरोना परीक्षणको दायरालाई फराकिलो र तीव्र बनाउनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

कोरोना परीक्षणसँगै उपचार नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन, अन्य स्वास्थ्य पूर्वाधार तयार गरेर बसेका भविष्यमा जोखिम आएमा जुध्नका लागि सहज हुनेछ ।

विकसित मुलुकहरूमा समेत कोरोनासँग जुध्न गाह्रो परिरहेको बेला नेपालजस्तो मुलुकले समयमै सतर्कता अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । समयमै कोरोना परीक्षणको दायरा बढाउनुपर्ने र स्वास्थ्य पूर्वाधारको व्यवस्थापन नभएमा जोखिम बढ्न सक्ने पनि उहाँको भनाइ रहेको छ ।

अहिले संख्यात्मकरूपमा संक्रमितको संख्या कम भए पनि भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइन, आइसोलेसन एवं अन्य स्वास्थ्य पूर्वाधारको व्यवस्थापन तयारी गरिरहेको पनि भुसालको भनाइ रहेको छ ।

उहाँका अनुसार स्टाफ कलेजमा १ सय १०, गणेशमान अस्पतालमा ५०, पाटन अस्पतालसँगै ललितपुरका अन्य अस्पतालमा गरी तत्कालका लागि ५ सय क्षमताको क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ ।

‘कोरोना संक्रमणको अवस्था तीव्ररूपमा फैलिन थालेको खण्डमा लिटिल एन्जल स्कुलमा थप २ सय जना बस्न मिल्ने क्वारेन्टाइन बनाउन सकिने’ उहाँको भनाइ रहेको छ ।

त्यस्तै ‘ललितपुरका ७ वटा होटललाई पनि क्वारेन्टाइन स्थलका रूपमा उपयोग गर्ने तयारी गरिएको छ । भुसालका अनुसार क्वारेनटाइनमा बस्नेको संख्या १ हजारभन्दा बढी भएमा महानगरपालिका, नगरपालिका, गाउँपालिका रहेका स्कुललाई क्वारेन्टाइन बनाउनका लागि सबै स्थानीय तहसँग छलफल भइरहेको छ ।