क्षेत्र विस्तार गर्दै कोरोना, व्यवस्थापन र व्यक्ति दुवैमा कमजोरी


नेपाल समाचारपत्र, बाँके ।

राप्तीसोनारी गाउँपालिकाका १८ वर्षीय युवा जेठ ७ गते रुपेडिया नाकाबाट नेपालगन्ज भित्रिए । आएकै दिन उनलाई ज्वरो देखियो । भोलिपल्ट एम्बुलेन्समा हालेर नेपालगन्ज ल्याइयो । परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो ।

राप्तीसोनारी गाउँपालिकामा कोरोना देखिने उनी पहिलो व्यक्ति हुन् । राप्ती सोनारीमा भारतबाट आएका १ सय ४० जना सात वटा क्वारेन्टाइनमा छन् ।

खजुरा गाउँपालिका–५ मा हालसालै भारतबाट आएका व्यक्तिमा कोरोना पुष्टि भयो । खजुरामा एक जना स्वास्थ्यकर्मी पनि संक्रमित भइसकेकी छन् ।

बाँकेमा शुरूमा नेपालगन्जमा २५ जना संक्रमित भेटिए । शुरूमा कोरोना देखिएका ६० वर्षीय व्यक्तिको सम्पर्कमा रहेकाहरू खोज्दै जादा २५ जना फेला परेका थिए । ती ६० वर्षीय बिरामी आफन्तीलाई भेटेर चैत १० गते नेपालगन्ज आएका थिए । उनमा वैशाख १९ गते संक्रमण देखिएको थियो । यद्यपि, ६० वर्षीयसहित पहिला देखिएका २१ जना कोरोना जितेर फर्किसकेका छन् ।

बाँकेमा भारतबाट आएका व्यक्तिले कोरोना फैलाइरहेका छन् । नेपालगन्जबाट देखिन शुरू गरेको कोरोना नरैनापुर, खजुरा हुँदै राप्तीसोनारी गाउँपालिकामा पुगिसकेको छ । जिल्लाको आठवटा पालिकामध्येमा चारवटामा कोरोना देखिसकेको छ ।

भारतबाट फर्किनेको संख्या बढ्दै जाँदा कोरोनाले पनि आफ्नो ‘एरिया’ बढाइरहेको छ । भारतबाट हुलका हुल नेपाली फर्किरहँदा गाउँ–गाउँमा कोरोनाको जोखिम बढेको छ । नेपालगन्ज नाकामा आइपुगेका नेपालीलाई सम्बन्धित जिल्ला, पालिकाको गाडीमा पठाउने गरिएको छ । दुई÷चार दिन बिराएर नाकाबाट नेपालीलाई आउन दिँदा २ हजार बढी भित्रिने गरेका छन् । नाकामा रहेको जमुनाहा

प्रहरीका अनुसार यही महिनामात्रै ५ हजार बढी भित्रिसकेका छन् । २७ सय, ८ सय, १९ सय र शनिबार १ हजार बढी भित्रिएका छन् । नाकाबाट भित्रिनेलाई एक–एक गरेर गन्न पनि छोडिएको छ । बसमा बसाउने र त्यसको सिट गन्ने गरिएको छ ।

जति–जति भारतबाट भित्रिएका नेपालीको संख्या बढ्दै छ, त्यति नै जिल्लामा कोरोना संक्रमित बढिरहेका छन् । लकडाउनले गर्दा भारतमा दुःख पाएर आएका नेपालीलाई भित्रिन नदिन पनि भएन । भित्रिन दिँदा कोरोना संक्रमण बढिरहेको छ ।

नरैनापुरको नेतृत्व

बाँकेमा शनिबार २७ जना कोरोना संक्रमित बढे । उनीहरू केही दिनअघि मात्रै भारतबाट आएर तीनवटा क्वारेन्टाइनमा बसेका थिए । संक्रमित सबै नरैनापुर गाउँपालिकाका हुन् । योसँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १४ जना पुग्यो ।

नेपालगन्जको भेरी अस्पतालमा चाप बढेपछि जेठ ७ गते दाङ पठाइएको २ सय २६ वटा स्याम्पलमध्ये १ सय ७७ वटाको जाँच गर्दा २७ जना पोजिटिभ भेटिए । १ सय ५० को नेगेटिभ रिपोर्ट आयो । अब दाङ पठाइएको बाँकेका ७ गतेकोे ४९ र ८ गते पठाइएको १ सय २६ वटाको रिजल्ट आउन बाँकी रहेको छ ।

बाँकेको नरैनापुरमा कोरोनाको केन्द्रबिन्दु जस्तै भएको छ । जिल्लामा २ सय ४२ जनामा कोरोना देखिएको छ । त्यसमध्येमा २१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । अरू संक्रमित नेपालगन्ज, खजुरा र राप्तीसोनारीका छन् ।