कोरोना संक्रमण हुनेमा पुरुष बढी


भगवती तिमल्सिना, काठमाडाैं ।

विश्वमा नै कोरोना संक्रमण महिलामा भन्दा पुरुषमा बढी देखिएको छ भने पछिल्लो समय बालबालिकामा पनि देखिन थालेको छ । यसका साथै दुब्ला मान्छेमा भन्दा मोटा मानिसमा अझ बढी संक्रमण देखिएको स्वास्थ्यकर्मीले औंल्याएका छन् ।

महिलामा भन्दा पुरुषमा एसटु रिसेप्टर बढी हुने हुनाले पुरुषमा बढी संक्रमण देखिएको स्वास्थ्यकर्मीको ठम्याइ छ । कोरोना भाइरस फोक्सोमा गएर टाँसिन्छ र फोक्सोमा नै बढी फैलन्छ । भाइरसको काम नै शरीरको रोगसँग लड्ने शक्ति कम गराउँदै संख्या वृद्धि गर्ने र स्वरूप परिवर्तन गर्ने हुन्छ ।

अमेरिकाकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा विस्तारै सुधार आएको अमेरिकाको न्युुयोर्कस्थित मेथोडिक्स अस्पतालमा कार्यरत एक नेपाली नर्सले जानकारी गराउनुभएको छ । उहाँका अनुसार मधुमेह, उच्च रक्तचाप, मुटु रोगीहरूलाई बढी समस्या हुन्छ ।

अमेरिकामा कोरोना संक्रमण भएकाको शरीरको क्षमताको ल्याब परीक्षण गरी एन्टिभाइरल औषधि प्रयोग गर्दै आएको छ । तर, यो औषधिको साइडइफेक्ट बढी हुन सक्छ । लिभर, मृगौला, मुटु, श्वास–प्रश्वासको समस्या भएका बिरामीलाई यस्तो औषधि प्रयोग गर्नुअघि सम्पूर्ण परीक्षण गरिन्छ ।

ब्लडप्रेसरको औषधि एसेनिभिटर खाइरहेका बिरामीमा बढी संक्रमण भएको हुनसक्ने अनुमान गरिएको थियो । शुरूका दिनमा यो औषधि खुवाउने वा नखुवाउने दुविधा भए पनि अहिले भने नियमित सेवन गरेको औषधि छुटाउन नहुने निष्कर्षमा स्वास्थ्यकर्मीहरू पुगेका छन् ।

न्युुयोर्कका अस्पतालहरूमा लामो समय कोरोना संक्रमित बिरामीको मात्र चाप भएकाले अन्य बिरामी अस्पताल नै नगई बसेका थिए । अहिले न्युुयोर्कका अस्पतालमा कोरोना संक्रमितको चाप घटेसँगै गिलनबरी, सिकलसेल, मुटुका रोगी र मृगौलाका गम्भीर प्रकृतिका बिरामीको चाप बढेको छ ।

यति बेला कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घटेसँगै अन्य बिरामीको मृत्यु हुने दर बढ्दै छ । अहिले कोरोना भएका मात्र नभई अन्य बिरामी पनि उपचारका लागि आउन थालेका छन् । पहिला अन्य समस्या भएका बिरामी उपचारका लागि अस्पतालमा आउन डराएका थिए ।

पछिल्लो समय मुटुका गम्भीर समस्या भएका बिरामीहरू आउन थालेका छन् । हर्टअट्याक भएर आउनेको पनि गम्भीर अवस्थामा अस्पताल पुग्ने गरेका कारण मृत्यु हुन थालेको छ ।

तर, उनीहरूमा कोरोना संक्रमण भने भएको पाइएन । विश्वमा नै यति बेला कोरोनाका बिरामीलाई मात्र प्राथमिकतामा राखेर हेर्दा अन्य खालका बिरामी उपचारको दायरामा नपुग्दै मृत्युवरण गरिरहेका छन् ।

यस्तो अवस्थामा जनचेतना र आत्मबल बढाउँदै कोरानाबाहेकका बिरामीको पनि उपचार सेवामा पहुँचको विस्तार गर्नुपर्ने अमेरिकाका स्वास्थ्यकर्मीहरूको ठम्याइ छ ।

नेपालमा जस्तो विकसित मुलुकहरूमा तत्कालै अस्पताल गएर परीक्षण गराउन नपाउने भएकाले २ देखि ३ हप्ताअगाडि नै चिकित्सकको टाइम लिएर नियमित परीक्षणका लागि जानुपर्ने हुनाले कोरोना संक्रमणका कारण अमेरिकामा यस्ता बिरामीले समयमा उपचार र चिकित्सकको सल्लाह नपाएका कारण जटिल अवस्थामा अस्पताल पुग्न थालेका छन् ।

नेपालले पनि कोरोना मात्र नभनी मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप जस्ता जटिल समस्याका लागि विशेष अस्पतालको व्यवस्था गर्नु उचित हुने देखिन्छ ।

नेपालमा पनि कोरोना संक्रमण हुनेहरू महिलाको दाँजोमा पुरुषको संख्या निकै उच्च रहेको छ । बिहीबारसम्म नेपालमा ४ सय ५३ जना संक्रमितमध्ये महिलाको संख्या सयभन्दा कमै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालका ७७ जिल्लामध्ये अहिलेसम्म ३८ जिल्लामा संक्रमित प्रमाणित भएका छन् ।

जसमा सबैभन्दा बढी उमेर ८१ वर्षको १ जना रहेको छ भने सानो उमेर १० वर्षसम्मको १६ जना रहेका छन् । त्यसै गरी २१ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी संक्रमित देखिएका छन् । यसको प्रमुख कारण भनेको युवाहरू धेरैजसो घरबाहिरका काममा हुने हुनाले उनीहरू नै बढी संक्रमित देखिएका हुन सक्ने चिकित्सकहरूको अनुमान छ ।