निजी फोहोर संकलन गर्ने कर्मचारीको व्यथा

२ हजारमा ३ सयको मात्र कोरोना परीक्षण  

94
Shares

नेपाल समाचारपत्र, काठमाडौंं

दैनिक घर–घरमा गएर फोहोर संकलन गर्ने र सिसडोल ल्यानडफिल साइटमा फोहोर व्यवस्थापन गर्ने करिब १ हजार ७ सय व्यक्तिको कोरोना परीक्षण नगर्दा उपत्यकामा संक्रमण फैलने खतरा बढेको छ ।

उपत्यका र छिमेकी जिल्लामा कोरोना संक्रमण देखिन थालेपछि दैनिक अग्रपंक्तिमा काम गर्ने निजी क्षेत्रका करिब २ हजार मजदुरमध्ये हालसम्म करिब ३ सयको हाराहारीमा कोरोना परीक्षण गरिएको छ । उपत्यकाका दुई ठूला काठमाडौं र ललितपुर महानगरपालिकाको सबै वडामा काम गर्ने मजदुरको कोरोना परीक्षण भएको छैन ।

निजीरूपमा फोहोर व्यवस्थापन गर्ने संस्था फोहोरमैला व्यवस्थापन संघका अनुसार उपत्यकासहित १८ स्थानीय निकायको फोहोर संकलन गर्र्ने करिब ७० निजी संस्थाले धुलिखेल नगरपालिकासम्मको फोहोर संकलन र ढुवानी गर्ने गरेका छन् ।

पाँच दिनअघि फोहोरको अन्तिम विसर्जन गर्ने ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका स्थानीयले सबै स्थानीयवासीको कोरोना परीक्षण नगरेसम्म फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिँदै फोहोर फाल्न ठप्प पारेका थिए ।

लगत्तै सरकारले ती क्षेत्रका स्थानीयको कोरोना परीक्षण गर्ने निर्णय गरेपछि फोहोर सुचारु भएको थियो । सरकारले ती क्षेत्रका बासिन्दाको कोरोना परीक्षण सम्पन्न गरिसकेको छ ।

स्थानीयले चेतावनी दिएपछि सरकारले कोरोना परीक्षण गरेको स्मरण गराउँदै संघका सदस्य सुलभ मोक्तानले हामीले पनि कोरोना परीक्षण नगरेसम्म फोहोर नउठाउने चेतावनी दिनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यस्तो सम्वेदनशील विषयमा स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकाले वास्ता गरेको छैन ।’ वेस्ट कन्सर्नका प्रमुख रहनुभएका मोक्तानले यस्तो गम्भीर विषयमा स्थानीय तह गम्भीर हुनुपर्ने स्थानीय तहले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

संघका अध्यक्ष धु्रव आचार्यले हालसम्म भक्तपुर, कीर्तिपुर, कागेश्वरी मनहरा, धुलिखेल, गोकर्णेश्वर, सूर्यविनायक नगरपालिकाले फोहोर संकलन, ढुवानी र व्यवस्थापनमा खटिने मजदुर र चालकको कोरोना परीक्षण गरिसकेको जानकारी दिनुभयो ।

करिब १ हजार मजदुर खटिने कामपा र १ सय ५ जना खटिने ललितपुर महानगरपालिकाले हालसम्म परीक्षण गर्ने विषयमा चासो नदेखाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘पटक–पटक भेटेर जानकारी दिँदा पनि ठूला दुई स्थानीय निकायले चासो देखाएका छैनन्, यसले गर्दा समुदायमा समेत गम्भीर असर पर्न सक्छ ।’

कामपाले आफ्नो क्वारेन्टाइन नभएका कारण हालसम्म परीक्षण गर्न आलटाल गरेको आचार्यको भनाइ छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सबै मजदुरको कोरोना परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरले आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका मजदुरलाई राख्ने स्थान नखोजेका कारण समस्या परेको छ । नेप्से म्याकका अध्यक्ष टीका दाहालले ललितपुर महानगरपालिकामा कार्यरत १ सय ५ मजदुरले केही दिनभित्र परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकामै मुख्य समस्या छ, क्वारेन्टाइन नभएका कारण परीक्षण गर्न समस्या भएको दाहालको भनाइ छ । नेप्सेम्याकअन्तर्गत करिब ५ सय मजदुर र चालक कार्यरत छन् ।

‘अहिले त सबै सवारी चालक स्विपरलगायतले कोरोना परीक्षण नगरे कामै नगर्ने चेतावनी दिँदै आएका छन्, बल्लतल्ल फकाएर काम गराइरहेका छौं ।’ –दाहालको भनाइ थियो ।

प्रत्येक स्थानीयको घरभित्र पसेर फोहोर संकलन गर्ने कर्मचारी र स्थानीयवासीको स्वास्थ्यमा खेलवाड गर्दा गम्भीर समस्या आउन सक्ने भन्दै संघले सबै स्थानीय तहलाई परीक्षण गराउन आग्रह गरेको थियो ।

सिंगो समुदाय नै संक्रमित हुन सक्ने अवस्थालाई ख्याल गर्दै तत्काल परीक्षण गर्ने व्यवस्था गर्न सबै स्थानीय तहलाई आग्रह गर्दा पनि समस्या समाधान हुन नसकेको आचार्यको भनाइ थियो ।

संघका अध्यक्ष आचार्यका अनुसार काठमाडौं, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका ७० प्रतिशत र १५ स्थानीय तहको शतप्रतिशत फोहोर निजी क्षेत्रले संकलन र व्यवस्थापन गर्ने गरेका छन् ।

‘हामीले अनिवार्यरूपमा मास्क, पन्जा र साधारण पीपीई प्रयोग गरेर मात्र फोहोर संकलन गर्न आफ्ना मजदुरलाई निर्देशन दिएका छौं ।’ –अध्यक्ष आचार्यको भनाइ थियो ।

कामपा वातावरण विभागले आफ्ना सबै कर्मचारीको परीक्षण गरिसकेको छ । विभागीय प्रमुख श्रेष्ठले निजीका मजदुरलाई परीक्षण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । संघका सदस्य मोक्तानले तत्काल सबै मजदुरको परीक्षण नगरे उपत्यकामा कोरोना संक्रमणले भयावह अवस्था ल्याउन सक्ने चेतावनी दिनुभयो ।

हाम्रो आग्रहलाई तत्काल सुनुवाइ गरेर तत्काल मजदुरको कोरोना परीक्षण गर्न आग्रह गरेका छौं, यदि परीक्षण नगरे काम गर्नसमेत समस्या हुन सक्छ ।’ –मोक्तानको भनाइ थियो ।

२१ जनाको र्यापिड टेस्टको नतिजा पोजेटिभ

नागार्जुन नगरपालिकामा बिहीबार ६ सय २४ जनाको र्यापिड टेस्ट गरिएको छ । जसमा २१ जनाको नतिजा पोजेटिभ आएको छ ।
एक स्वास्थ्यकर्मीसहित अन्य २० कर्मचारी तथा स्थानीय गरी जम्मा २१ जनाको र्यापिड टेस्टको नतिजा पोजेटिभ आएको नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो ।

र्यापिड टेस्टमा नतिजा पोजेटिभ आए पनि २१ जनालाई वडाध्यक्षको जिम्मामा क्वारेन्टाइनमा नराखी घर–घर पठाइएको उहाँले बताउनुभयो ।

क्वारेन्टाइनमा बढी भीडभाड हुने तथा सुविधासम्पन्न पनि नभएको तथा र्यापिड टेस्टमा पोजेटिभ देखिएकाहरू स्थानीय भएकाले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छोडिएको उहाँले बताउनुभयो ।

बाहिरबाट आएका मानिस नभएकाले पनि उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी छोडिएको उहाँको भनाइ थियो ।