१५ बोरा चामलका लागि ६ सय ५० को आवेदन,चामल बाँड्न वडाअध्यक्षलाई चिन्तैचिन्ता

0
Shares

सुनील महर्जन,ललितपुर ।

ललितपुर महानगरपालिका– १६ ले जेठ ७ गते बुधबार राहत वितरण गर्ने पूर्वनिर्धारित कार्यक्रम मंगलबार साँझ अचानक स्थगित ग¥यो । बाँड्न राखिएको खाद्य सामग्रीको तुलनामा कयौं गुणा मानिहरुले राहतको लागि आवदेन भर्नु नै स्थगित गर्नुको मुख्य कारण थियो ।

१५ बोरा चामल वितरण गर्न लाग्दा ६ सय ५० ले राहत को माग गरेपछि कार्यक्रम स्थगित गर्नु बाहेक अर्को विकल्प नरहेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । ‘राहतको माग गर्ने सबैलाई दिन सकेन भने विवाद आउने निश्चित नै छ । ’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

यस अघि सो वडामा राहतका लागि आवेदन भर्नेहरुमा अधिकाशं बहालमा बस्ने मानिसहरु थियो भने यसपटक अधिकाशं स्थानीयहरु रहेका छन् । ललितपुर – ११ मा पनि महानगरपालिकाले राहतका लागि भनेर १५ बोरा चामल पठाएको थियो ।

‘राहतको माग गरेर वडा कार्यालयमा आउने मानिसहरुको संख्या सयौं छन् । राहत कसलाई दिने र कसलाई नदिने झै भएको छ । ’ वडाअध्यक्ष इन्द्रमान महर्जनले भन्नुभयो । लकडाउन लम्बिएसंगै काठमाडौं उपत्यकाका अरु जिल्लासंगै ललितपुरमा राहतको माग गर्ने मानिसहरु संख्या बढीरहेको यो एउटा उदाहरण हो ।

लकडाउन जारी गरिएको तेस्रो सातातिर महानगरपालिकाले १९ हजार ५ सय ७३ परिवारलाई राहत प्रदान गरेको थियो ।
महानगरपालिकाले अति विपन्न, असहाय, अपांगता भएका, दैनिक ज्यालादारीमा काम गर्नेहरुको लागि न्यूनत्तम राहत व्यवस्था गरेको भन्दै १ देखि २९ वडामा जेठको पहिलो साता राहत सामग्री पठाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई जानकारी दिनुभयो ।

राहत लिन सयौं मानिसहरुले आवेदन दिएपछि अहिले वडाहरुले औपचारिक रुपमा घोषणा गरेर राहत दिन सकेको छैन ।
त्यसैगरी २० वडामा यस अघि १६ सय परिवारलाई राहत वितरण गरिएको थियो । महानगरपालिकाका १ देखि २९ वडाहरु मध्ये सबैभन्दा बढी राहत वितरण सोही वडाले गरेको थियो ।

वडाभित्र अस्थायी बसोबास गर्ने १४ सय र २ सय स्थानीय परिवारलाई राहत वितरण गरिएको वडाअध्यक्ष चन्द्रलाल महर्जनले जानकारी दिनुभयो । वडा नं २० का अनुसार लकडाउन लम्बिएसंगै राहतको माग गर्नेहरु संख्या बढीरहेको छ ।

शुरुमा डेरावालहरुले राहत माग गरेकोमा अहिले स्थानीयहरु राहत माग गर्न थालेका छन् । लकडाउन अवधि लम्बिने हो भने शहरी क्षेत्रमा न्यून आएका, आर्थिकस्थल कमजोर भएका मानिसहरुको संख्या अझ विकराल रुपमा आउने सक्ने प्रबल सम्भावना पनि वडाअध्यक्ष महर्जनले औल्याउनुभयो ।

ललितपुर कला र संस्कृतिको शहरको रुपमा चिनिन्छ । लकडाउन कारण अहिले सबैभन्दा पीडित दैनिक ज्यालादारीको रुपमा मूर्ति बनाउने, मूर्तिमा बुट्टा र्कोन, मूर्ति सफा गर्ने, काष्ठकला र प्रस्तरकलाका कालिगढहरु पीडित छन् ।

चीनको बुहान शहरबाट कोरोना भाईरस फैलिनु भन्दा छ महिना अघिदेखि काम ठप्प भएका थिए भने कोरोना भाईरसपछि त्यसको व्यापार नै शून्य भएका कारण थप पीडित भएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताउनुभयो ।

‘स्थानीय तहले ज्यालादारीमा काम गर्ने मानिसहरुलाई राहत वितरण गर्दा हस्तकलाका कालिगढहरुलाई पुरै छुटाएको छ । हस्तकलाको नगरीमा ज्यालादारीमा काम गर्ने कालिगढहरुले राहत नपाउनु विडम्बनापूर्ण भन्नुपर्दछ । ’उपाध्यक्ष शाक्यले भन्नुभयो ।

राहतको माग गर्नेहरुको संख्या बढे अनुरुप राहत दिने वा नदिने विषयमा महानगरपालिका कार्यपालिकाहरु अहिले सम्म अन्यौल रहेको वडाअध्यक्षहरु बताउँछन् । यसले गर्दा वडाहरु राहतको लागि सहयोगका लागि विभिन्न संघसंस्थाहरु समक्ष हारगुहार गर्न थालेका छन् ।