कोरोनाले असहिष्णु बन्दै समाज : टोलमा ‘सुत्केरी’, क्वारेन्टाईनमा ‘शंकास्पद’ निषेध

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

समाज कति असहिष्णु बन्दै छ भन्ने कुरा जिल्लामा भएका पछिल्ला दुई घटनाले पुष्टी गर्छ । कोरोना भाईरसको आशंकामा क्वारेन्टिनमा राखिएका ब्यक्तिहरुलाई गरिने ब्यवहार र नयाँ ब्यक्ति टोलमा प्रवेश गर्दा गरिने असामाजिक ब्यवहारले ब्यक्ति भित्रको मानवियता हराएको भान हुन्छ ।

मंगलबार धुलिखेल अस्पतालले सुत्केरी महिलाको डिस्चार्ज ग¥यो । धुलिखेल अस्पताल कोभिड १९ संक्रमण सम्वन्धी स्वाव परिक्षण गर्ने प्रयोगशाला हो । जसले प्रयोगशालाका अलावा अस्पतालमा एमरजेन्सि भर्ना हुन आएका विरामीहरुको उपचार सेवाका साथै कोरोना आशंकामा स्वाव दिन आएका विरामीहरुलाई आईसोलेसनमा राखेर उपचार गरिरहेको छ । अस्पताल आफै असुरक्षित ब्यक्तिको उपचार गराउँदैन ।

जबसम्म उक्त ब्यक्तिलाई कोरोना संक्रमण छैन भन्ने पुष्टी गराउँछ तब मात्रै उसको थप उपचार सेवा शुरु हुन्छ । मंगलबार धुलिखेल अस्पतालले डिस्चार्ज गरिएकी विरामी पाँचखाल नगरपालिका निवासी हुनुहुन्थ्यो । टोलबासीहरुले सुत्केरी महिला ल्याउन नदिने भन्दै शुरुमा वडा अध्यक्षलाई फोन गरे । वडा अध्यक्षले नगर प्रमुखलाई फोन गरे । नगर प्रमुखले स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झालाई फोन गरे ।

धेरै लामो प्रयास पछि सुत्केरी महिला आफ्नो घरमा सहज जाने वातावरण बन्यो तर अझै उक्त टोलका स्थानीयहरु जनप्रतिनिधि प्रति रुष्ट छन् । पनौतीमा सोमबार दिउसो वडा अध्यक्ष, स्वास्थ्यकर्मी, शाखा प्रमुख, अन्य शाखामा कार्यरत कर्मचारी, चालक सहित ६ जनामा आरडिटी परिक्षणमा पोजेटिभ देखियो । तत्काल उहाँहरुको पिसिआर परिक्षणका लागि धुलिखेल अस्पतालमा स्वाब संकलन गरी नगरपालिकाले तयार गरेको प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको क्वारेन्टाईनमा पु¥याईयो ।

नगरपालिकालाई क्वारेन्टाईनको पहिलो अनुभव थियो । सक्दो ब्यवस्थापन गरिरहेको थियो । जब आरडिटी पोजेटिभ आएका ब्यक्तिहरु क्वारेन्टाईन पुगे स्थानीयहरुले अवरोधको प्रयास गरे । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सहयोगि कर्मचारी केदार पहरी काम नै नगर्ने भन्दै फरार भए । कतिसम्म भने रातको ९ बजे पछि खाना पकाउने ब्यक्तिहरु समेत खाना पकाएर खुवाउन तयार भएनन् ।

वडा नम्वर १२ का वडा सदस्य जितबहादुर श्रेष्ठ आफैले स्कुटरमा खाना बोकेर क्वारेन्टाईन पुगे । क्वारेन्टाईनमा आवश्यक पर्ने अन्य सामाग्रीहरुको तत्कालै ब्यवस्थापन गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले बताउनु भयो ।
मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाईनमा बसेका ब्यक्तिले मासु र भात नभई बस्न नसक्ने भन्दै तत्काल ब्यवस्थापन गरिदिन अनुरोध गरेका थिए । इन्टरनेट, टिभी, स्वास्थ्यकर्मीहरु, भान्से, सरसफाईकर्मी, सुरक्षाकर्मी सहित ब्यवस्थापन गरिएको क्वारेन्टाईनमा देखिएका असहिष्णु ब्यवहारले समाज कता जाँदैछ ? प्रश्न जन्माएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले यस्ता घटनाहरुले समाजमा हुने असहज परिस्थिती र महामारी सामना गर्न चुनौती थपिएको बताउनु भयो । महामारी नियन्त्रणमा यस्ता घटनाले उत्साह भन्दा निराशा पैदा हुने भएकाले यस्ता घटना प्रति सचेत रहँदै असहयोग गर्नेलाई तत्काल कानुनी कारवाही गर्नु पर्ने बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको टोलीले बुधबार खोपासीमा रहेको क्वारेन्टाईन अनुगमन गरेको थियो ।

खोपासीमा रहेको क्वारेन्टाईनको सुविधा र ब्यवस्थापन उत्कृष्ट रहेको झाले बताउनु भयो । नगरपालिका प्रमुख भिम न्यौपानेले नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टाईनको संख्या विस्तार गर्दै खोपासी, सुन्थान, कुशादेवी, पनौती बजारमा समेत विस्तार गर्न लागेको बताउनु भयो । तत्कालका लागि इन्द्रेश्वर माध्यमिक विद्यालय भित्र ५० बेडको क्वारेन्टाईन निर्माण हुने प्रमुख न्यौपानेले बताउनु भयो । ‘हामी समस्या रहित क्वारेन्टाईन तयार गरी नागरिकहरुको सुरक्षामा प्रतिवद्ध छौं’–नगर प्रमुख न्यौपानेले भन्नुभयो ।