सुस्ताबाट डुंगा चढेर आएका थिए नवलपरासीका कोरोना संक्रमित

0
Shares

घनश्याम बगाल,नवलपरासी ।

पश्चिम नवलपरासीका २७ वर्षीय कोभिड १९ संक्रमित युवा एक साता अघि अतिक्रमित भूमी सुस्ताबाट डुंगा चढेर नेपाल आएका थिए ।सुस्ता चौकीका ३ प्रहरी सवार डुंगामा भारतबाट आउदै गरेका ति युवा पनि चढेको बताईएको छ । स्थानीय २ नौकावरले उनीहरु चढेको डुंगालाई खियाएर नारायणी नदी पार गराएका हुन् । भातरको मुम्वईबाट विहारको बसही हुदै सुस्ता आउदै गरेका ति युवालाई लिन उनका भाईले मोटर साईकल लिएर नदीको घाटसम्म पुगेका बताए ।

संक्रमित युवालाई भाईले नदी किनारबाट घर नलगी सुस्ता गाउंपालिका ५ को बेलवानी क्वारेन्टाईनमा लगेर राखेका थिए ।गांउपालिककै स्वास्थ्य चौकीको क्वारेन्टाईनमा रहेका ३० जनाको स्वाव जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा ति युवामा बुधबार कोभिड १९ संक्रमण पुष्टी भएको हो ।

भारतबाट आएका दाजुलाई क्वारेन्टाईन छोडेर घर पुगेका भाईलाई पनि स्थानीयले सम्पर्कमा आएको भनी तुरुन्तै क्वारेन्टाईनमा पठाएका थिए । भाइको भने पिसिआर परीक्षण नतिजा नेगेटिभ आएको थियो ।सुस्ता गाउंपालिकाले संक्रमित युवा चडेको डुंगा चलाउने दुइजना र संगै डुंगामा सवार सुरक्षाकर्मीहरुको पहिचान गरी स्वाव परीक्षणको तयारी भै रहेको बताएको छ ।

सिमावर्ती क्षेत्रमा भारतबाट मानिसहरु आउन थाले पछि स्थानीय सुस्ता गाउपालिकाले नदीमा डुंगा सञ्चालनमा रोक लगाएको थियो, पारीबाट सुरक्षाकर्मी आउनुपर्ने भए पछि उक्त डुंगा तारिएको हो । संक्रमित युवालाई जनस्वास्थ्य कार्यालय नवलपरासीले उपचारका लागि भीम अस्पताल भैरहवाको आईसोलेसनमा लैजाने तयारी गरेको जनाएको छ ।

नेपाल भारत सिमावर्ती क्षेत्रम पर्ने सुस्ता गाउं पालिकामा नेपालीहरु भारतबाट भित्रने क्रम बढे पछि ७ ओटा क्वारेन्टाईन निर्माण गरिएको थियो । बुधबार अपरान्ह सम्म यहांका विभिन्न क्वारेन्टाईनमा भारतबाट आएका र देश भित्रकै गरी २ सय १२ जना मानिस राखिएको गाउं पालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो ।