आतंक मच्चाउँदै निजी विद्यालय

अभिभावक भन्छन्: अति भयो कारबाही होस्


ईश्वरराज ढकाल, काठमाडौं ।

राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग मासिक शुल्क उठाउन थालेको छ । विद्यालयले लगातार खबर पठाएर रकम माग गरेको अभिभावकहरूले गुनासो गरेका छन् ।

हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठ अध्यक्ष रहेको सो विद्यालयले अनलाइन कक्षालाई लगातार पढाइसरह मान्यता दिँदै रकम असुल्न थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन वा अन्य कक्षा सञ्चालन गरेको बहानामा रकम नलिन गरेको निर्देशनलाई वेबास्ता गर्दै विभिन्न विद्यालयले शुल्क उठाउन थालेका हुन् ।

सो विद्यालयले वैशाख १६ गते नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको जानकारी गराउँदै रकम बैंकमा जम्मा गर्न ताकेता गरेको थियो । लगातार फोन र म्यासेजमार्फत ताकेता गरेपछि अभिभावकले सञ्चारमाध्यम गुहारेका छन् ।

वैशाख १६ गते पठाएको म्यासेजमा तपाईंहरूले बैंक डिपोजिट, अनलाइन ट्रान्सफर र मोबाइल बैंकिङमार्फत रकम जम्मा गर्न आग्रह गरिएको छ ।

विद्यालय प्रशासनले विद्यालय शुल्क र अन्य जानकारी लिन परे विद्यालयका कर्मचारी बबिता श्रेष्ठ, सुभद्रा श्रेष्ठ र देविका महर्जनसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

‘विद्यालयले हामीलाई फोन गरेर विद्यालयका अध्यक्ष श्रेष्ठ सरकारका सूचना विज्ञ भएको र अनलाइन कक्षालाई विद्यालयले पढाइ शुरू गरेको जानकारी गराउँदै रकम असुल्न दबाब दिएका छन् ।’ –एक अभिभावकले नेपाल समाचारपत्रसँग भने ।

ती अभिभावकले यस्तो अवस्थामा आफूूहरूसँग रकम नभएको भन्दै तत्काल शुल्क लिने व्यवस्था रोक्न सहयोग गरिदिन सञ्चारमाध्यमलाई आग्रह गरेका थिए ।

आफूू पीएचडी गरेको र अनलाइन शिक्षाका बारेमा विभिन्न शिक्षकलाई तालिम दिएको दाबी गर्ने अध्यक्ष डा. श्रेष्ठले कर्मचारी खटाएरै फोन गर्न शुरू गरेका छन् ।

सो विद्यालयले वैशाख ४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गरेको जनाएको छ । विद्यालयले वैशाख ३१ गते जुम अनलाइनबाट अभिभावक बैठक गरेको थियो ।

अध्यक्ष डा. श्रेष्ठ र प्रिन्सिपल संगिता श्रेष्ठले अनलाइन कक्षाको विषयमा बैठक गरेका थिए । प्रिन्सिपल श्रेष्ठ अध्यक्ष स्वागतकी श्रीमती हुन् ।

विद्यालयले जेठ ३ गते तेस्रो म्यासेज पठाएर जेठको शुल्क तिर्न दबाब दिएको थियो । म्यासेजमा फाइनान्सियल डिसिप्लेन कायम गर्दै अन टाइममा शुल्क तिर्न आग्रह गरेको थियो ।

आफूूलाई सूचना विज्ञका रूपमा परिचय दिने डा. श्रेष्ठले अभिभावकलाई दबाब दिएको विषय काठमाडौं महानगरपालिका शिक्षा शाखामा पुगेको थियो । तर, विद्यालयले शुल्क उठाउने काम आफ्नो नियमित प्रक्रिया भएको जनाएको छ ।

पछिल्लो समयमा मासिक शुल्क उठाउन अनलाइन कक्षा सञ्चालन गरेर अभिभावकलाई आतंकित बनाएको निजी विद्यालयले अनलाइन कक्षालाई निरन्तर पढाइ भइरहेको र त्यसको शुल्क दिनुपर्ने दाबी गर्दै आएका छन् । कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा विद्यालयलाई शुल्क असुल्नै हतारो छ ।

केही विद्यालयले त सञ्चालकको व्यक्तिगत बैंक खातामा शुल्क जम्मा गर्नुपर्ने उल्लेख गरिएको म्यासेज पठाउने गरेका छन् ।

त्यस्तै काव्य स्कुल बानेश्वरले अभिभावकका नाममा शुल्क बुझाउन म्यासेज पठाएको छ । म्यासेजमा काव्य स्कुलका सञ्चालक प्रेमराज अर्याल, दिलीप थापा र सुनीलकुमार घर्तीको नाममा रहेको इन्भेस्टमेन्ट बैंकको खाता नम्बरमा शुल्क बुझाउन भनिएको छ ।

 

रकम मागेका छैनौं: अध्यक्ष

विद्यालयका अध्यक्ष डा. स्वागत श्रेष्ठले सिस्टमबाट विद्युतीय म्यासेज गए पनि अभिभावकसँग जबरजस्ती नगरेको बताउनुभयो । उहाँले सिस्टमबाट बिल पुगेको स्वीकार्नुभयो ।

तर, श्रेष्ठ आफैंले प्रिन्सिपललाई आदेश दिएर अभिभावकलाई फोन गर्न लगाएको एक अभिभावकको भनाइ छ ।

तर, अनलाइन कक्षा सञ्चालन गरेपछि विद्यार्थीसँग पढाइसरह शुल्क लिनुपर्ने उहाँको भनाइ थियो । अन्य विद्यालयको भन्दा फरक ढंगले कक्षा सञ्चालन गरिरहेको बताउँदै उहाँले भन्नुभयो– ‘अरू स्कुलमा जस्तो गरी हामीले पढाएका छैनौं । लकडाउन लम्बिएका कारण अनलाइनमा पढाउन बाध्यता रहेको छ ।’

शुल्कको सूचना फिर्ता लिने विषयमा केही उत्तर नदिएका श्रेष्ठले सरकारले विद्यालय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो । आफूू सानो विद्यालयको सञ्चालक भन्दै उहाँले ठूूला विद्यालयको हैसियतमा आफ्नो विद्यालयको पढाइ गुणस्तरयुक्त रहेको दाबी गर्नुभयो।

 

शुल्क लिए कारबाही: सरकार

काठमाडौं महानगरपालिका शिक्षा शाखाका प्रमुख सीताराम कोइरालाले अनलाइनमार्फत पढाएको भनेर शुल्क लिनु सरासर कानुनविपरीत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अनलाइन अध्ययन अध्यापनका नाममा शुल्क नलिन शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ । कानुनविपरीत शुल्क लिने एक विद्यालयलाई कारबाही गरिसकेका छौं ।’

उहाँले हिमालयन ह्वाइट हाउस वल्र्ड स्कुल, संस्कृति र एक मन्टेश्वरीसँग सोधपुछ गरिसकेको जानकारी दिनुभयो । शाखाले मंगलबार सार्वजनिक सूचना जारी गरी लकडाउनको समयमा अनलाइन वा अन्य कुनै पनि शुल्क नउठाउन अपिल गर्ने भएको छ ।

‘हामीले महानगरभित्रका सबै विद्यालयले शुल्क लिए/नलिएको विषयमा अनुगमन गरी शुल्क उठाउने विद्यालयमाथि कारबाही गर्ने तयारी गरेका छौं ।’ –उहाँले भन्नुभयो ।

कामपाले राजधानीका विद्यालयमा अनलाइन कक्षाको समयका बारेमा समेत अध्ययन गर्ने तयारी गरेको छ ।