न्युज अफ नेपाल,मलंगबा ।
जिल्लाका विभिन्न उद्योगमा मजदुरी गरेर बस्ने चार सयभन्दा बढी भारतीय नागरिकको लर्को मंगलबार सिमा क्षेत्रमा पुग्यो र भारतीय सुरक्षाकर्मीले पारी जान नदिएपछि पुनः नेपालतिरै फर्क्यो । महिला र केटाकेटीको संख्या बढी रहेको यस समूहका व्यक्तिले सर्लाहीलगायत आसपारका जिल्लामा मजदुरी काम गरेर बस्दैआएको तर साहुले अब काम दिन र पाल्न पनि सक्दिनँ भनेर दबाब दिएका कारण बाध्य भएर विहारको विभिन्न क्षेत्रमा रहेको आफ्नो घरमा जान खोज्दा जान नदिएपछि पुनः साहुकै शरणमा जान लागेको अधिकांशले बताएका छन् ।

‘लकडाउन खुलिहाल्छ कि भनेर केही समय अलिकति जम्मा भएको पैसा खर्च गर्दै बस्यौं, तर तत्कालै खुल्ने सम्भावना देखिएन, बरु आफ्नै घरतिर जाउँ भनेर हिंडेको, कस्तो समस्यामा परियो’ टाउकोमा ठूलो गुण्टा र हातमा ६ वर्षकी छोरी डोहो¥याएका श्रीधन महतोले नेपाल समाचारपत्रलाई भने । उनी जिल्लाकै एक इँटाभट्टामा विगत तीन वर्षदेखि काम गर्दैआएको बताउँछन् । उनका अनुसार यस झण्डमा ठूलो संख्या इँटाभट्टामै काम गर्नेहरुको छ ।

यस समूहलाई भारतीय सुरक्षाकर्मीहरुले पारी जान रोकेका हुन् । महतो भन्छन्, ‘हामीले आफ्नो ठेगाना पनि बतायौं, रासनकार्ड पनि देखायौं, तर आफ्नै देशका सुरक्षाकर्मीहरुले हाम्रो कुरा सुनेनन्, निसहाय हुनुप¥यो ।’ नेपालतर्फ फर्किदै गरेका उनीहरुमध्ये अधिकांश पूर्वपश्चिम राजमार्गको किनारमा अन्योलपूर्ण र कुनै आश्रयदाताको खोजीमा बसेका देखिए ।
सिमाना क्षेत्रमा खटिएका एक नेपाली सुरक्षाकर्मीले नेपाल समाचारपत्रलाई बताए, भारतीय नागरिकहरुलाई उनीहरुको सरकारले जान दियो भने हामीले रोक्ने कुरा आउँदैन, यो उनीहरुको मामिला हो, तर जान दिएको छैन । उनका अनुसार यी नागरिकहरु गए रातिदेखि नै भन्सार क्षेत्रमा थुप्रिएर बसेका छन्, बारम्बार भारतीय सुरक्षाकर्मीलाई अनुरोध गर्छन्, कतिले रुँदै बिलौना गरेको पनि देखिन्छ, तर केन्द्रीय सरकारहरुबीचको सहमतिको विषय भएकाले स्थानीय प्रशासनले केही गर्न मिल्दैन ।

सामाजिक दुरी के हो कसैले ख्याल गर्न सकेको छैन, त्यसलाई महत्व दिन भ्याएको पनि छैन । नेपाल–भारतबीच खुला सिमाना मात्र नभई अव्यवस्थित सिमाना भएका कारण एक हजार सात सय खुला सिमानाको जहाँसुकैबाट प्रवेश गर्ने सम्भावना रहेकाले एक–आपसको मुलुकमा एक–अर्काका कति जनता छन् भन्नसक्ने अवस्था छैन ।
तापनि यो संख्या लाखौंमा रहेको निश्चित छ । पारि सिमानामा रहेका नेपाल प्रवेश गर्न चाहने नेपालीको पनि यस्तै बिजोग अवस्था छ । ‘दुवै देशका सरकारले आ–आफ्ना नागरिकलाई आफ्नो मुलुक जान नदिएर नागरिक अधिकारको हनन गरिरहेको छ’ सिमाना अवलोकनमा आएका एक मानवअधिकारकर्मीले भने ।











प्रतिक्रिया