पोखराका होटल असोजसम्म नखुल्ने

0
Shares

न्युज अफ नेपाल,पोखरा ।

कोरोना महामारी तथा लकडाउनका कारण मारमा परेका पोखराका होटल संचालकहरुले आउँदो असोज महिनासम्म व्यवसाय बन्द गर्ने भएका छन् । संघले सोमबार घरधनीका नाममा अपिल जारी गर्दै होटललाई सहुलियत प्रदान गरिदिन आग्रह गरेको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले लकडाउन खुले पनि तत्काल व्यवसाय सञ्चालन गर्न असहज हुने भएकाले असोजसम्म सम्पूर्ण होटल बन्द गर्ने जनाएका छन् ।

‘भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेका छन्,’ अध्यक्ष विकल शेचरनले जारी गरेको अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिन अपिल गर्दछौं ।’

‘होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइएको थियो,’ अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउन अपिल गदछौं ।’

कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण संकटमा परेका व्यवसायीले घरभाडामा सहुलियत खोजेका छन् । कोरोना भाइरस संक्रमणका कारण सिर्जना भएको समस्या होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाटै समाधान गर्नुपर्ने संघले बताएको छ ।