गोदावरीमा आरडिटी गर्दा तीन जनामा कोरोना पोजिटिभ

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

गोदावरीको दुई स्थानमा तीन सय १९ जनाको आरडिटी गर्दा तीन जनामा कोरोना पोजिटिभ पाईएको छ । गोदावरीको दुई स्थानमा दुई दिन लगाएर गरिएको कोरोना भाइरस परिक्षणका क्रममा सोमबार तीन जनामा आरडिटि पोजिटिभ पाईएको हो ।

गोदावरी नगरपालिका नगर स्वास्थ्य शाखाका उपसंयोजक केशब थापाले तीन जनाको आरडिटि परिक्षणमा पोजिटिभ देखिएको बताउनुभयो । ‘जिल्ला जनस्वास्थ्य कार्यालयले दुई दिन लगाएर लिएको परिक्षणमा तीन जनाको आरडिटि पोजिटिभ आएको छ ।

उहाँहरुलाई नजिकै रहेको बज्रबाराही चापागाउँ अस्पतालको आइसोलेसनमा राखिएको छ।’, उहाँले भन्नुभयो। उहाँका अनुसार उनीहरुको थप परिक्षणको लागि पिसिआरको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको छ ।

आरडिटि पोजिटिभ देखिएकाहरुमा बज्रबाराही चापागाउँ अस्पतालमा कार्यरत सिनियर अहेव पुरुष स्वास्थ्यकर्मी, वडा–७ का वडा सदस्य र तरकारी ढुवानी गर्ने चालक रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयले दुई दिन लगाएर तीन सय १९ जनाको आरडिटि र एक सय ६० जनाको पिसिआरको नमुना परिक्षण गरिएको जनाएको छ। दुई दिन लगाएर अग्रपंतीमा रहेर नगरभित्र कार्यक्षत्रमा खटिएका, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार लगायतको परिक्षण गरिएको थियो ।