कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–२, बैंसरीस्थित रिठाबोटबाट आइतबार कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स भेटिएको छ । मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा एम्बुलेन्ससहित चालक बेपत्ता भएका थिए ।

सडकबाट करिब १ सय मिटर तल खसेको एम्बुलेन्सको सीसा फेला परेपछि खोजीकार्यको क्रममा दुर्घटना स्थलबाट करिब ५ मिटर तल एम्बुलेन्स भेटिएको उद्दारमा संलग्न नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताउनुभयो । दुर्घटनामा बेपत्ता चालक मुस्ताङको थासाङ गाउपालिका–४, का २५ वर्षीय सोजन विकको अवस्था भने अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

कालीगण्डकीको बहावका कारण बेपत्ता चालकलाई बगाएको वा खोंचमा परेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटना हुुँदा चालक उछिट्टिएर एम्बुलेन्सबाट बाहिर गएको हुन सक्ने अनुमान गर्नुका साथै प्रहरीले खोजीकार्यमा तीव्रता दिएको जनाएको छ । करिब ४ महिना अगाडि स्वास्थ्यचौकीमा चालकको रुपमा कार्यरत विक अविवाहित हुन्भने उनको खोजीका लागि आफन्त समेत दुर्घटनास्थलमा आएका छन् ।