भोलिदेखि टोलमा प्रवेश निषेध र बाटो बन्द गर्नेलाई कडा कारवाही गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल–टोलमा नयाँ मान्छेलाई प्रवेश निषेध गर्न थालिएको छ ।गल्लीका बाटाहरु बन्द गराउन स्थानीय मानिसहरु हुलका हुल खटिएका भेटिन्छन् । सुरक्षाकर्मीलाई समेत पछाडी राखेर स्थानिय युवाहरुले स्वयंसेवाको नाममा सवारी पास जाँच गर्न थालेका छन् ।

नागढुंगामा सरकारी अनुमती बिना आफुलाई स्वयंसेवी बताउने उत्तम कार्कि सहितको समूहले स्वास्थ्यकर्मीलाई दुरब्यवहार गरेपछि गृहले त्यस्ता गतिविधिमा रोक लगाएको छ ।आईतबार साँझ गृह मन्त्रालयले टोल–बस्तीमा प्रवेश निषेध गर्ने र बाटो बन्द गराउनेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानीय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पुर्याउने अमानवीय कामप्रति मन्त्रालयको गम्भीर ध्यनाकर्षण भएको छ ।’

कतिपय बस्तीमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दवाब दिने र आवागमनमा दुरब्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

‘संक्रामक रोग ऐन–०२० अनुसार सरकारको निर्णय पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरिएको छ’ मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ–‘जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै ब्यक्तिलाई पनि कानून बमोजिम हदैसम्मको सजाय हुन्छ ।’