हामीमा शोक बढी छ कि त्रास, भन्न गाह्रो छ !

गायत्री तिमल्सिना(मृतककी बहिनी,काभ्रे ।

0
Shares

दिदी म साथीजस्तै हौं । ऊ सानीआमाकी छोरी म ठूलीआमाकी । हाम्रा आमाहरु दिदी–बहिनी । म चाहिं नर्स भएँ, ऊ चाहिं घरव्यवहारतिर लागी । हामीले लाख कोशिस ग¥यौं, तर सकेनौं, अल्पायुकी रहिछ, हामीलाई छोडेर गई । नौ दिनको बच्चालाई पनि छोडी । सुत्केरी चोखिन पनि पाइन ।

यतिखेर बाह्रविसेको राम्चे मात्र शोकमा छैन, धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका हामी सबै शोकमा छौं । हामीमा शोक बढी छ कि डर, भन्न पनि गारो छ । हामी दिदीले छोडेर गएको नवजात शिशुका साथै सबै परिवारको रिपोर्ट नेगेटिभ आओस् भनेर भगवानसँग प्राथना गर्दैछौं ।

म बनेपास्थित शिरमेमोरियल अस्पतालमा नर्सिङ पेशामा कार्यरत भएकोले पनि हामीले दिदीलाई हतार गरेर यहीं ल्यायौं । बाह्रबिसेको अस्पतालमा भेन्टिलेटर, अक्सिजनलगायतका सुविधा भैदिएको भए दिदीलाई सास फेर्न गाह्रो हुँदा अक्सीजन दिएर या भेन्टिलेटरमा राखेर अस्पताल ल्याउन सकिन्थ्यो र बचाउन सकिन्थ्यो । त्यहाँ आरडिटी परीक्षणमा नेगेटिभ देखायो, धुलिखेल र काठमाडौंमा पिसिआर गर्दा पोजिटिभ देखियो । सरकारले भरपर्दो परीक्षण विधिसमेत गाउँलाई दिएको छैन । आफन्त गुमाएको पीडाको घडीमा पनि राज्यले सही सूचनासम्म नदिंदा थप पीडा भैरहेको छ ।

दिदीसँग जो जति व्यक्तिहरुको भेटघाट सम्पर्क भएको छ, उहाँहरुको जतिसक्दो चाँडो ट्रेसिङ गरी छिटोभन्दा छिटो स्वास्थ्य परीक्षण गराइयोस् । परिवारका सदस्यमध्ये हामी चार जना शोकको घडीमा पनि धुलिखेल अस्पतालको आइसोलेसन वार्डमा शिशुका साथ आफ्नै रिपोर्टको प्रतीक्षामा छौं ।

उत्ता घरमा मृतकको १० वर्षे जेठो छोरा र मृतकको सासु हुनुहुन्छ । उहाँहरुको पनि समयमै पिसीआर परीक्षणका लागि स्वास्थ्यकर्मी खटाइए हुन्थ्यो । अहिलेसम्म बाह्रविसेसम्म स्वास्थ्यकर्मी पुगेका छैनन्, एरिया चै स्थानीय निकायबाट शील गरिएको छ । दिदीको बच्चा जन्माउन त्रिवि. शिक्षण अस्पतालका चिकित्सकले जेठको २३ गते डेट दिएको भएपनि एक महिना अगाडि नै बच्चा जन्मियो ।

एक महिनाअघि वैशाख २३ गते उहाँलाई लेबर पेन शुरु भयो र बच्चा नर्मल नै भयो । बच्चाको अवस्था पनि सामान्य नै छ र एक महिनाअघि जन्मिएको भएपनि बच्चाको तौल पनि २ किलो ६ सय ग्राम छ, यो सामान्य नै हो । दिदी काठमाडौंको टोखामा बस्दै आउनुभएको थियो ।

गर्भवती भएपछि शुरुदेखि नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै परीक्षण गराउँदै आउँनुभएको थियो । वैशाख २३ गते राति लेबर पेन भयो, अस्पताल पुग्दा बच्चा जन्मने अवस्थामा पुगेको रहेछ । २४ गते उज्यालो हुँदा बच्चा जन्मियो । एक दिन अस्पतालमै बस्नुभयो र २५ गते अस्पतालबाट डिस्चार्ज भएपछि सीधै सिन्धुपाल्चोक घर लगेको हो ।

वैशाख ३१ गते दिदीलाई ज्वरो आउनुका साथै सासफेर्न गाह्रो भयो । बाह्रविसेकै स्थानीय अस्पतालमा लगियो । त्यसपछि धुलिखेल अस्पताल ल्यायौं । एम्बुलेन्सबाट तल झार्ने बेलामा नै उहाँ अचेत भैसक्नु भएको थियो । एकघण्टा जति स्वास्थ्यकर्मीले गर्नुपर्ने काम भेन्टिलेटरमा राख्ने, सिपीआर दिने काम गरे । त्यसपछि अस्पतालले दिदीको मृत्यु भयो भनेर घोषणा गर्यो । धुलिखेल अस्पताल ल्याएर पनि बचाउन सकिएन ।

हामी सामान्य परिवारको मान्छे, पहिला भिनाजु नेपाली सेनाको जागिरे हुनुहुन्थ्यो, पछिल्लो समय सुरक्षा गार्डको काम गर्दै आउँनुभएको छ । सबैभन्दा ठूलो चोट त अब भिनाजुलाई प¥यो, दुई–दुई बच्चा कसरी हुर्काउनुहुन्छ ! अहिलेसम्म कसैले सहयोगको कुनै वचन दिएको छैन । सरकारले हामीजस्ता पीडामा परेका व्यक्तिलाई सान्त्वना दिने, सुरक्षा गर्ने खालका काम बिहिवारदेखि आज (शनिवार ४ बजेसम्म) पनि गरेन ।

यति सम्मकि, रिपोर्ट पनि समयमा दिइएन । हामी सानो बच्चालाई लिएर अस्पतालबाहिरै भौतारिदै रिपोर्टको प्रतीक्षामा बस्यौ । बिहीबार दिदी बित्नुभयो, शुक्रबार बिहानदेखि रिपोर्ट १२ बजे आउँछ, ४ बजे आउँछ, ८ बजे आउँछ भनेर आश्वासन दिइयो । हामीलाई कुनै जानकारी पनि गराईएन र सुरक्षित बस्न पनि भनिएन ।

त्यतिञ्जेल अस्पतालले त रिपोर्ट पाइसकेको थियो । हामी शोकमा परेका बेला कति मान्छेले छोएहोलान् ? सान्त्वना दिन आएहोलान् भन्ने हेक्कासमेत छैन । यदि सरकार र अस्पतालले पहिला नै सुरक्षित राखेर रिपोर्ट सार्वजनिक गर्न समय लाग्छ भनेको भए अरुलाई संक्रमण हुने थिएन ।

तेस्रो दिन शनिवार पनि हामीलाई रिपोर्टको बारेमा जानकारी गराइएन । म आफै शिरमेमोरियल अस्पतालमा काम गर्ने नर्सलाई त यति गाह्रो भयो भने सर्वसाधारणलाई कस्तो होला ? शनिवार म आफै ल्याबमा गएर किन हामीलाई रिपोर्टका बारेमा जानकारी गराउँनुहुन्न भनेपछि एकजना कर्मचारीले तपाईहरु सुरक्षित बस्नुस्, उहाँको रिपोर्टमा डाउट भएकाले हिजै टेकु पठाएका छौं, उताको रिपोर्ट स्वास्थ्य मन्त्रालयले ४ बजे सार्वजनिक गर्छ भन्नुभयो । शोकमा परेका व्यक्तिलाई छिटोभन्दा छिटो रिपोर्टको जानकारी दिने कि ४ बजेको प्रेसमिट पर्खने !

तपाईंहरु रिपोर्ट भन्ने कि नभन्ने नत्र म पत्रकार बोलाउँछु भनेपछि तपाईहरुजस्तै हामी पनि असजिलोमा छौं धैर्य गर्नुस् भने । तर स्वास्थ्य मन्त्रालयले ४ बजे पनि रिपोर्ट सार्वजनिक गरेन, मिडियामार्फत दिदीको रिपोर्टको बारेमा सार्वजनिक भएपछि अस्पतालले पनि तपाईंहरु सुरक्षित बस्नुस् भनेर आइसोलेसनमा राख्यो र हाम्रो स्वाब लिएर परीक्षणका लागि ल्याबमा पठायो । रिपोर्ट आउन कति समय लाग्छ थाहा छैन ।

दिदीको रिपोर्ट २४ घण्टामा आइसकेको रहेछ तर सरकारकै कारण अस्पतालले सार्वजनिक नगरेको भन्ने बुझियो । पहिलो केश भएर पनि होला, सरकारले प्रक्रिया पूरा गरेर सार्वजनिक गर्न ढिला गरेको । हामीलाई जतिसक्दो छिटो नेगेटिभ होस् या पोजेटिभ, जानकारी भैदिएको भए सतर्कता अपनाउन पाउने थियौं । सरकारले प्रक्रिया र प्रेसमिटका नाममा हाम्रो जीवनमाथि खेलवाड गर्न पाउँछ ?

तीन दिनसम्म सरकारकै कारण अस्पतालले प्रोसेसिङ भैरहेको छ भन्दै हामीलाई पीडामाथी पीडा थपेर गुमराहमा राख्यो । हामीले त रिपोर्ट आइसकेपछि समयमै थाहा पाएर सुरक्षा अपनाउन पाउनुपर्ने हैन र ?

रिर्पोट आएर पनि सरकारी तहको तजविजका कारण तीन दिन सम्म त्यो नवजात शिशुको बारेमा समेत वास्ता गरिएन । अझै पनि टेकुबाट आएको रिपोर्टका बारेमा सरकारी तवरबाट आधिकारिक जानकारी दिनुभएको छैन । मिडियामार्फत मात्र जानकारी पाएका छौ । यदि मिडियाले प्रेसर नगरेको भए सरकारले अहिलेसम्म पनि रिपोर्ट सार्वजनिक गर्ने थिएन होला !

अब यतिखेर अस्पतालले सीधै घर जा भन्यो भने हामी जानसक्ने अवस्थामा छैनौ । यतिबेला हामीलाई जन्मेको ९ दिनमा आमा गुमाउन पुगेको नवजात शिशु, जो अहिले हामीसँगै छ, उसको चिन्ता छ । बच्चालाई न्यानो बनाएर राख्नुस् है भनेर अस्पतालका स्वास्थ्यकर्मीहरुले फोन गरिरहनुभएको छ । तर कसरी न्यानो बनाउने ?

बच्चामा संक्रमण देखियो भने उसको स्वास्थ्यको लागि आवश्यक पर्ने एनआईसीयू, भेन्टिलेटर, छुट्टै उपचार गर्ने कक्षको विषयमा सरकारले के सोच्दैछ ? आमालाई त समयमा सही परीक्षण नपाएर मृत्युले निल्यो, यो बच्चालाई त्यस्तो नहोस् । समयमै सरकारले सोचेर व्यवस्थापन गरोस् । अहिले ल्याक्जोजिन खुवाउँदै राखेका छौं ।

(प्रस्तुतिः भगवती तिमल्सिना र मोतीराम तिमल्सिना, कुराकानीमा आधारित)