विस्फोटक पदार्थ राख्न नागढुंगामा बंकर बनाइँदै


नेपाल समाचारपत्र, काठमाडौं ।

नागढुंगा–सीतापाइला सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण गर्न बंकर निर्माण हुनेभएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले थानकोट ब्यारेकसहित सुरुङको दुवै मुखनजिक बंकर निर्माण गर्न लागेको हो ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलले थानकोट ब्यारेकमा ५० टन क्षमताको बंकर निर्माण सम्पन्न भएको र सुरुङको दुवैतर्फ बंकर निर्माणको काम चाँडै हुने बताउनुभयो ।

‘सुरुङ खन्न चाहिने विस्फोटक पदार्थ भण्डारण गर्न ५० टन क्षमताको बंकर बनायौं । अब सुरुङको दुवैतर्फको मुखमा १०÷१० टन क्षमताको बंकर निर्माण गर्दै छौं ।’ –उहाँले भन्नुभयो ।

दुई दशमलब ७ किलोमिटर लम्बाइको उक्त सुरुङमार्ग खन्न ९ सय टन विस्फोटक पदार्थ आवश्यक पर्ने आयोजनाले जनाएको छ । ब्लास्ट मेथडबाट खन्ने सुरुङका लागि विस्फोटक पदार्थ अत्यावश्यकरूपमा लिइन्छ । सुरुङ आयोजनाले विस्फोटक पदार्थ खरिदको प्रक्रिया थालिसकेको आयोजना प्रमुख खरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले सुरुङ खन्न विस्फोटक पदार्थको खरिद प्रक्रियासमेत थालिसकेका छौं । केही प्रक्रिया पूरा गरेपछि हामी विस्फोटक पदार्थ ल्याई सुरुङ खन्ने काम थाल्छांै ।’

सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको यस सुरुङ निर्माणका लागि निर्माण कम्पनीले निर्माण सामग्रीसमेत आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्राथमिकता प्राप्त बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी गएको कात्तिक २८ गतेबाट निर्माणको काम थालेको थियो ।

जापान सरकारको ऋण सहयोगमा जापानी कम्पनी हाज्मा÷आन्दो जेभीले सुरुङमार्गको निर्माण गरिरहेको छ ।

ठेकेदार पक्षबाट प्रस्तुत कार्ययोजनाअनुसार यही ‘मे’ महिनाको अन्तिम वा जुन महिनाको पहिलो हप्ताबाट सुरुङ खन्ने काम शुरू गर्ने योजनाले जनाएको छ । सुरुङ खन्न ठेकेदार पक्षले आवश्यक उपकरण ल्याउने प्रक्रिया थालिसकेको आयोजनाले दाबी गरेको छ ।

यस बीचमा निर्माण कम्पनीले सुरुङमार्गबाहेक सुरुङमार्गसम्म पुग्ने पहुँचमार्ग, साइड क्लियरको काम, बस्ने घरहरू निर्माण, टनेल प्ल्याट फर्म, कल्भर्टलगायतका निर्माण कार्य गरिरहेको अयोजना प्रमुख खरेलले बताउनुभयो ।

यहाँ बन्ने २ दशमलब ७ किलोमिटर लम्बाइको सुरुङमार्ग र फ्लाइओभर नेपालकै पहिलो हुने दाबी आयोजनाले गरेको छ । आयोजनाको सुरुङ, फ्लाइओभर र सडक आन्तर्राष्ट्रियस्तरको बन्ने आयोजनाले जनाएको छ ।

उपत्यकाको मुख्य नाकाका रूपमा रहेको नागढुंगा नाकाका लागि यस सुरुङमार्ग निर्माणलाई महत्वपूर्णरूपमा हेरिएको छ ।

सुरुङमार्गको निर्माण सम्पन्न भएपछि हालको सडकको रेखाङ्कनमा सुधार हुने, यातायात सञ्चालनको समयमा कमी आउने र सडक यातायातलाई सुरक्षित र भरपर्दाे हुने जनाइएको छ ।