कोरोना उपचारमा फेविपाइरेविर प्रभावकारी : रुस

0
Shares

मस्को (एजेन्सी) ।

कोरोना भाइरसको उपचारका लागि औषधीको खोजमा रुसले सकारात्मक नतिजा हासिल गरेको दावी गरेको छ । रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र टप फर्मेसी ग्रुपले फेविपाइरेविर नामक औषधीको प्रयोगले ६० प्रतिशत विरामीमा कारोना भाइरस नेगेटिव आएको घोषणा गरेको छ ।

अस्पतालमा भर्ना भएका ४० विरामी रेन्डम तरिकाबाट क्लिनिकल परिक्षण गरिएको थियो । उपचारको पाँच दिनपछि उनीहरुमा नेगेटिव देखिएको थियो । यो परियोजनाका लागि आरडीआईएफले २० लाख डलर लगानी गरेको हो ।

फेविपाइरेविर सबैभन्दा पहिला जापानमा सन् १९९० को दशकमा एविगान नामबाट बनाइएको थियो । यो इन्फुएन्जा जस्ता आरएनए भाइरसको उत्पादन संरचनामा रोक लगाई आफनो असर देखाउँछ । रुसको एकेडमी अफ साइन्सेजका प्रोफेसर र चेमरेरमा बोर्ड अफ डाइरेक्टर्सका प्रमुख एन्ड्री इवासेन्कोका अनुसार मेको अन्तसम्ममा ३ सय ३० विरामीको क्लिनिकल परीक्षण हुनेछ ।

प्रारम्भिक नतिजामा यस औषधीको कुनै साइड इफेक्ट नदेखिएको इवासेन्कोले बताए । यद्यपी गर्भवती महिलामा यसको परीक्षण गरिएको छैन । जापानमा एभिगानको प्रयोगले प्रसुतीमा समस्या देखिएको थियो । यद्यपी गम्भिर रुपमा विरामी परेकाहरुमा यसले कति असर गर्छ भन्ने कुरा भन्न सकेको छैन ।

रुसमा एक खोपको नमुना जनावरमा परीक्षण पनि भइरहेको छ ।