कोरोना रोक्न बाटो ठप्प, स्थानीयबाटै विरोध

0
Shares

सुनील महर्जन, काठमाडौं ।

काठमाडौंमा कोरोना संक्रमितहरु बढ्दै गएपछि स्थानीयहरु आ आफ्नो टोल, क्षेत्र सिल गरेका छन् भने यस कार्यलाई लिएर स्थानीयहरुकोबीच बाटै विरोध हुन थालेको छ ।

काठमाडौं उपत्यकामै कोरोना संक्रमित बढ्न थालेपछि थप सतर्कता अपनाउन विभिन्न आ आफ्नो इलाका, टोल सिल गर्न लागेको स्थानीयको भनाई रहेको छ ।ललितपुर र काठमाडौंका विभिन्न स्थानका नाकाहरुमा बाँस राखेर बाटो बन्द गरेका छन् । यसले गर्दा अत्यावश्यक सवारी साधनहरु भित्री बस्तीहरुमा छिर्न नसक्ने स्थिति रहेको छ ।

कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले जारी गरेको लकडाउनको ५० औं दिनमा राजधानीमा कोरोना संक्रमित देखिएको हो।अघिपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको समाचार सुने अनुसार खासै सर्र्तकता नपआउनेहरु पनि बुधबारदेखि त्रसित भएका छन्।बुधबार निदान हस्पिटलमा कोरोना संक्रमित देखिए भन्ने समाचार तीब्र गतिमा फैलिएपछि त्रसित भएको पाइएको छ ।टोलटोलका विभिन्न नाकाहरुमा बाँसहरु राखेर समुदायस्तरमै ‘सिल’ गर्न मानिसहरु लागेको देखिन्थ्यो ।

लकडाउनको ५१ औं दिन ललितपुरको बालकुमारी वरपर त्यहाँका टोल सुधार समितिले घरघरमै गएर कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने नियम बारे जानकारी दिँदै पर्चा वितरण गरेका छन् । ललितपुर भोलढोका नजिक महालक्ष्मी टोल सुधार समिति आफ्नो क्षेत्रका सबै घरहरुमा गएर भौतिक दूरी कायम गर्नुपर्ने, लकडाउनको समयमा कोठा भाडामा कसैलाई नदिन, नयाँ मान्छेमा आएमा सावधानी अपनाउ घरदैलो अभियान थालेको स्थानीय सुदर्शन शाक्यले बताउनुभयो ।

महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुरमा यस्तो कुनै घर छैन, जसको परिवार विदेश गएको छैन । अहिले आएर यहाँ विदेशबाट आएका, वा कुनै अपरिचत व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाइएको छ ।कथंकदाचित जानैपरे त्यहाँको खटिएका स्वयं सेवकहरुलाई नाम टिपाउनुपर्ने नियम कडाईका साथ लागू गरिएको छ । कन्ट्रयाक्ट टेसिङ गर्न सजिलो होस् भनेर नाम थर र बाँकी परिचय खुलाएपछि गाउँमा जान दिएको स्थानीय सरोज महर्जनले बताउनुभयो ।

अहिले ललितपुरको गुईटोल, पिछेँ, पिलाछेँ, नागबहाल, चल्खु नकबहील, न्याखाचोक, धौगल, छाय्बहाल लगायत भित्री बस्तीहरुको चोक, चोक र नाकानाकामा बाँस राखेर आवागमनमा कडाई गरिएको छ । ‘ सडक बन्द गर्नु ठीक छैन । मानिसहरु घरमै बसिरहने, एक टोलका मानिस अर्को टोलमा नजाने भए एक हिसाबले ठीक भनौला । आफू घुमिरहने र अपरिचितहरुको लागि मात्र सडक ठप्प पारेको भन्ने तर्क आफैमा नमिल्ने कुरो हो । एम्बुलेन्स लैजानुपर्‍यो भने के गर्ने ।’ स्थानीयवासी प्रदीप शाक्यले भन्नुभयो ।

त्यसैगरी काठमाडौंको असन, न्हयोखा लगायत विभिन्न टोलहरुमा आवामगन ठप्प पारिएको छ । ‘कोरोना संक्रमणबाट बच्न घरमै सुरक्षित रहने हो ।‘लकडाउन भनेको घरमै बस्नु हो । सडकमा आवागमन रोक्ने होइन ।’काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो ।बाटोमा बाँस, काठ, इँटा राखेर सडक बन्द गर्नु कानून विपरीत रहेको पनि मेयर शाक्यको भनाई रहेको छ । ‘घरमै बसेँ भइगो । सडक किन ठप्प पार्नुपर्‍यो ।’ मेयर शाक्यको भनाई रहेको छ ।