राजधानीका विद्यालय क्वारेन्टाइनका लागि


ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउने बताउनुभएको छ ।

उपत्यकामा कोरोना महामारीको जोखिम बढ्न सक्ने आँकलन गर्दै मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी दिनुभयो । पोखरेल कोभिड–१९ नियन्त्रण र उपचार उच्चस्तरीय समितिका सदस्यसमेत हुनुहुन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संयोजक रहेको सो समितिले राजधानीलगायत देशैभरका शिक्षालयमा क्वारेन्टाइन राख्ने विषयमा पहिलो चरणको छलफल गरिसकेको छ ।

मंगलबार राति भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भाइरस देखिएपछि सरकारले बाहिरबाट उपत्यका भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने तयारीसहित शिक्षालयहरू प्रयोग गर्न खोजेको हो ।

समितिमा हिसान, प्याब्सन, एन–प्याब्सन, मेडिकल कलेज, सुरक्षा निकायलगायत अधिकारी सदस्य छन् । हिसानका अध्यक्ष रमेश सिलवालले उपत्यकाका अधिकांश क्याम्पस, विद्यालय, मेडिकल, इन्जिनियरिङ कलेजलगायतका क्वारेन्टाइन राख्ने विषयमा निर्णय भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिसान आबद्ध सबै पदाधिकारीका कलेजलाई क्वारेन्टाइन बनाउने विषयमा निर्णय भइसकेको छ । बूढानीलकण्ठ, फर्पिङको त्रिभुवन आदर्श, हात्तीवनको लिटिल एन्जेल्स, गोल्डेनगेट, ट्रिनिटी, जेभियर्स इन्टरनेसनल, नोवेल, लेवरोटरीलगायतका तीन दर्जनभन्दा बढी शिक्षालयलाई क्वारेन्टाइन बनाइनेछ ।

हिसानले राजधानीको भित्री शहरमा भन्दा पनि अलि टाढा रहेका शिक्षालयलाई क्वारेन्टाइन बनाउन उचित हुने सुझाव दिएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आवश्यकताको आधारमा सबै निजी विद्यालयलाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले पहिलो प्राथमिकता सरकारी कलेज, होटल, गेस्ट हाउस, मेडिकल कलेजको गेस्ट हाउस, सरकारी विद्यालय पछि निजी विद्यालय प्रयोग गर्ने सरकारी नीतिअनुसार आफूहरू तयार रहेको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले एन–प्याब्सनअन्तर्गत देशैभरका ठूूला विद्यालयलाई सरकारले क्वारेन्टाइन बनाउन चाहे सोहीअनुसार व्यवस्थापन गर्न तयार रहेको बताउनुभएको छ ।

यसै गरी, त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै आंगिक क्याम्पसलाई पत्राचार गरी क्वारेन्टाइन राख्न दिन निर्देशन दिएको बताउनुभएको छ ।

उहाँका अनुसार हालसम्म करिब तीन दर्जन क्याम्पसमा क्वारेन्टाइन राखिएको छ । प्रदेश १, २, ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा रहेका क्याम्पस भवन अहिले क्वारेन्टाइनकै प्रयोजनमा लगाइएका छन् ।