नेपालमा २१७ कोरोना संक्रमित, चार पत्रकार

भारतबाट आउने व्यक्तिमाथि निगरानी अनिवार्य: विज्ञ


भगवती तिमल्सिना, काठमाडौं ।

मंगलबार काठमाडौंमा एक र भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै गरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ। उनीहरु सहित मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सामा मात्रै १८ जना संक्रमित भेटिएका छन्। जसमा ६ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेका छन्। अधिकारीका अनुसार त्यसैगरि महोत्तरीमा १६ र ३५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर प्रदेश २ कै सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अधिकारीले बताए।

मंगलबार, यसअघि नै नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये ३९ जना पर्साका छन् । यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार नेपालमा एकैदिन यति ठूलो परिमाणमा संक्रमित भेटिएको यो पहिलो घटना हो । संक्रमित सञ्चारकर्मीहरू भने जिल्लाका फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरू भएको उहाँले जानकारी गराउनुभयो ।

पत्रकारहरू आफैंले रिपोर्टिङका क्रममा धेरै मानिसको सम्पर्कमा पुगेकाले स्वाब परीक्षण गरिएको र संक्रमण पुष्टि भएको हो । डा. उपाध्यायका अनुसार उहाँहरूको अवस्था भने सामान्य छ ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्नुहुन्छ– ‘कोरोना संक्रमण भएका व्यक्तिको व्यक्तिगत पहिचान हामीले गर्न मिल्दैन ।’ प्रदेश नं २ र ५ मा भारतबाट आएका व्यक्तिहरूमा नै संक्रमण देखिएकाले नेपालको हरेक क्षेत्र उच्च जोखिममा छ ।

विशेष गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षणमा विशेष निगरानीका साथै क्वारेन्टाइनको थप व्यवस्थापनमा कडाइ गरिनुपर्छ ।

 सरकारले पछिल्लोपटक लकडाउनको अवधि लम्ब्याएको मिति अझै ५ दिन बाँकी छ । जब–जब सरकारले तोकेको अवधि सकिनै लाग्छ पुनः कोरोना संक्रमितको संख्या पनि बढ्दै जान्छ ।

केही दिनदेखि संक्रमितको संख्यामा कमी आएको हो कि भन्ने भान सडकमा गुडेका गाडी र खुकुलो पनले महसुस भएकै हो । अरनिको राजमार्गमा त चार दिनदेखि झन्डै सामान्य अवस्थामा जस्तै सामान ढुवानीका साधन ट्रिपर, ट्रक, मिनीट्रक, खाद्यान्न, तरकारी ढुवानीका साथै अफिसियली काममा हिँड्नेको भीडले बाटो जाम नै भएको थियो ।

सरकारले यही वैशाख २६ गतेदेखि कल–कारखाना, उद्योग, व्यवसाय, निर्माणको कामलाई खुला गरेसँगै यातायातका साधनको चाप बढेको सुरक्षाकर्मीहरू बताउँछन् ।

यति बेला नेपालमा पनि एकथरि पक्षलाई लकडाउनको मारले निकै समस्या परिसकेकाले कहिले खुल्ला र काममा गई दैनिकी चलाउने भन्ने अवस्था सिर्जना भइसकेको छ । सरकारले लकडाउन मात्र गरेर कहिलेसम्म धान्ने ? भित्रभित्रै विरोधका स्वर सुनिन थालिसकेका छन् ।

तयारीसहित खुकुलो बन: डब्ल्यूूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूूएचओ) ले लकडाउनलाई खुकुलो पार्नुअघि तयारी गर्नुपर्ने विषयमा ध्यान दिनुपर्ने कुराको जानकारी गराएको छ ।

डब्ल्यूूएचओका प्रमुख डा. टेड्रोस आधानम घेब्रियससले सोमबारको मिडिया ब्रिफिङमा लकडाउन खोल्न आत्तिएका देशहरूलाई तीन कुरामा ध्यान दिएर निर्णय लिनू भनेर सुझाव दिनुभएको छ ।

पहिलो नम्बरमा आफ्नो मुलुकमा फैलिएको कोरोना संक्रमण अर्थात् महामारी नियन्त्रणमा आएको छ वा छैन ?

दोस्रो नम्बरमा देशको स्वास्थ्य प्रणालीहरू लकडाउन खुकुलो पार्दा पुनः दोहोरिन सक्ने समस्यासँग सामना गर्न सक्छन् कि सक्दैनन् ?

तेस्रो नम्बरमा स्वास्थ्य निकायहरूले सम्भावित संक्रमितको खोजपड्ताल गर्ने र पत्ता लगाउने अनि व्यवस्थापन गर्नुका साथै कन्ट्याक ट्रेसिङ गरी त्यसको सम्पूर्ण पहिचान गर्न सक्षम भएको छ कि छैन ?

‘यदि यी तीनकुरामा हामी सकारात्मक छौं भने लकडाउनबारेमा सोच्न सकिएला कि ? तर, यी तीनवटै विषयमा सकारात्मक जवाफ आए पनि लकडाउन खोल्दा थप जटिलता भने आउन सक्छ । यो चुनौतिपूर्ण घडी हो ।

यस्तै केस कोरियामा देखियो जो पहिले बन्द थियो । पछि खुल्यो र अहिले फेरि बन्द छ । चीनको उहानमा पनि यस्तै देखियो । जर्मनीमा पनि लकडाउन खोलेपछि संक्रमितको संख्या बढ्यो ।’ तर यी तीनैवटा मुलुक स्वास्थ्य प्रणालीमा बलिया भएकै कारण पुनः नियन्त्रणमा लिन सफल भए ।