लकडाउनमा आफ्नै परिवारका सदस्य र छिमेकीबाटै बलात्कारका घटना बढे

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

बन्दाबन्दीको समयमा २४ वटा जिल्लाहरुमा २ सय ३१जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामामात्र ५५ वटा महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएको छ ।

यस अवधिमा अभिलेखिकरण भएका घटनाहरुमध्ये १ सय ३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिसा, ३४ वटा बलात्कार, ७ वटा बलात्कारको प्रयास, १० वटा यौन दुव्र्यवहार,२ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १४ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना र ४ वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् । घटनामा संलग्न पीडकहरुमा १ सय ५ जनाश्रीमान्, ४५ जना परिवारका सदस्यहरु, ४६ जना छिमेकी, १२ जनाप्रमी ठानिएका व्यक्ति, ५ जना साथी, ४ जना घरमालिक रहेका छन् भने २५ जना पीडकको पहिचान खुल्न बाँकि रहेको छ ।

यस अवधिमा संकलन भएका ३४ वटा बलात्कारका घटनाहरु मध्ये २ वटा सामुहिक बलात्कार र १ वटा बैवाहिक बलात्कारको घटना रहेको छ । बलात्कारका घटना भने १ वटा श्रीमानबाट, २४ वटा छिमेकीबाट, २ वटा बुवावाट, १ वटा आफ्नै दाजुबाट, १ वटा परिवारका सदस्यवाट र ३ वटा घटना पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ भने २ वटा सामुहिकबलात्कारका घटनामा २ जना प्रेमीठानिएका व्यक्तिर ११ जनाउनका साथीहरु संलग्न रहेको पाइएको छ ।

सबैभन्दा बढी ७७जनामहिलाहरु १७ देखि २५ बर्ष उमेर समूहका हिंसाबाट प्रभावितभएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ३३जना, ४६ बर्षभन्दामाथिकाउमेर समूहका २० जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ३२ जनाबालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ७ जना हिंसाबाट प्रभावितभएका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये १ सय २ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० जना मेलमिलाप समितीमा गएको, ३० जना हिंसा सहन नसकेर आमाबुवाको घर/ आफन्तकोमागएर बसिरहेका र ६९ जना प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरि नसकेकोर वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

सुझावहरु

१. प्रत्येक स्थानीय तहमा हिंसा विरुद्ध उजुरी गर्न प्रोत्साहन गर्ने र हिंसामुक्त जीवन बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चितताका लागि हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने र आवश्यक सम्बोधनका लागि हटलाईनको व्यवस्था गर्नुेपर्ने । उजुरी गर्नका लागि सहज वातावरणको सिर्जनागर्नुका साथै आवश्यकता अनुरुप सुरक्षा आवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने ।

२. सबै स्वास्थ्य संस्थाहरुमा गर्भवती र सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने सेवाहरु र बच्चाको अनिवार्य खोप सेवालाई नियमित सुचारु गर्नुपर्ने । बर्थिंग सेन्टर, प्राथमिक स्वास्थ्यचौकी, अस्पताललाई नियमित सेवा प्रदान गर्नका आवश्यक सुरक्षा सामाग्रिहरु प्रदान गर्नुपर्ने । साथै परिवार नियोजनका साधनहरुको उचित व्यवस्थापन र समुदायमा यसको पहुँचहुने वातावरण तयार गर्नुपर्ने ।

३. केहि स्थानीय पालिकाहरुले क्वारेन्टाईनमा मनोपरामर्श सेवा सुचारु गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत प्रत्येक क्वारेन्टाईनमा मनोपरामर्श सेवा अनिवार्य हुनुपर्ने जनाएको छ यसर्थ प्रत्येक क्वारेन्टाईनमा मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने र बढी प्रभावित क्षेत्रहरुमा अनिवार्य रुपमा मनोपरामर्श सेवाप्रवाह गर्नुपर्ने ।

४. महिला तथा वालिकाहरुमाथि क्वारेन्टाइन स्थलमा हुनसक्ने संभावित हिंसा तथा जोखिमलाई मध्यनजर गर्दै महिला तथा वालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन स्थलको व्यवस्था गर्नुपर्ने । महिला तथा बालिकाहरु राखिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा महिला सुरक्षाकर्मीको व्यवस्था, महिलाका लागि आवश्यक सेनिटरी प्याड लगायत अन्य सामाग्रीको अनिवार्य व्यवस्था, सानो बच्चाहरु समेत रहेका क्वारेन्टाइनमा बच्चाका लागि आवश्यक पौष्टिक आहार र खेल सामाग्रीको व्यवस्थागर्नुपर्ने ।

हिंसा प्रभावितका लागि सुरक्षित आवास सेवा प्रदान गर्दै आएको, यस संस्था ओरेकले, यस महामारीको अवस्थामा हिंसामा परेका र उजुरी गर्न चाहने व्यक्तिका लागि व्यक्तिगत सुरक्षाका उपाय सहित हाल ६ वटा जिल्लाहरुमा (मोरगं, उदयपुर, धनुषा, कैलाली, दागं, र काठमाण्डौं) स्थानीयतहसँगको समन्वयमा, सुरक्षा आवासको सेवा प्रदान गरिरहेको छ ।

संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित २३८ र२२४ हिंसा प्रभावित/प्रभावितको परिवारका सदस्य गरी जम्मा ४६२ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघ संसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ । यीमध्ये १७ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको ओरेकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।