‘खाद्यान्नको चिन्ता नलिनुस्’


सुरेश तामाङ, काठमाडौं

विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को संक्रमणले गर्दा मुलुक बन्दाबन्दीको अवस्थामा छ । करिब तीन महिना लामो बन्दाबन्दीकै अवस्थामा नागरिकमा खाद्यान्न अभाव हुन नदिन सचेत रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव प्रकाश दाहालले मुलुकमा खाद्यान्न अभाव हुन नदिन मन्त्रालय सचेत रहेको जानकारी दिनुभयो ।
उहाँले बन्दाबन्दीकै अवस्थामा पनि खाद्यान्नको आपूर्ति सहजरूपमा भइरहेको बताउनुभयो ।

‘खाद्यान्नको सहज आपूर्ति भइरहेको छ । पछिल्ला दिनमा आपूर्तिलाई बढाइएको छ । खाद्यान्न अभाव हुन नदिन मन्त्रालय सचेत र गम्भीर छ ।’ –उहाँले भन्नुभयो ।

पछिल्लो दिनमा खाद्यान्न आपूर्ति वृद्धि भइहेकाले नागरिक चिन्तित नरहनसमेत उहाँले आग्रह गर्नुभयो । उहाँले खाद्यान्न अभाव हुने भयले अनावश्यकरूपमा खरिद गरी नथुपार्नसमेत आग्रह गर्नुभएको छ ।

सरकारले बर्खे अवधिभरि पुग्ने गरी खाद्यान्न भण्डारणसमेत गरिसकेको मन्त्रालयले जनाएको छ ।

बन्दाबन्दीकै अवधिमा पछिल्लो दिनसम्म १ लाख ५१ हजार ९ सय ८४ मेट्रिक टन खाद्यान्न, ४१ हजार ८ सय १० मे. टन दलहन, ६० हजार २९ मे. टन तरकारी, २१ हजार ६९ मे. टन फलफूूल, ११ हजार १ सय १० मे. टन दुग्धजन्य पदार्थ आपूर्ति भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल १८ हजार १ सय ३८ मेट्रिक टन चामल रहेको जसमध्ये ३ हजार ३ सय ३६ मेट्रिक टन दुर्गमका जिल्लाहरूमा, ६ सय ९ क्विन्टल फापर र ५ सय ३४ क्विन्टल सिमी मौज्दात रहेको छ । यसै गरी घिउ ४ सय ९ लिटर, दाल १९ मेट्रिक टन खरिद भएको लिमिटेडले जनाएको छ ।

लिमिटेडले चामल १ लाख मेट्रिक टन र गहुँ ४५ सय २२ मे. टन खरिदका लागि प्रक्रिया थालिसकेको लिमिटेडकी योजना विभागका विभागीय प्रमुख सर्मिला सुवेदीले बताउनुभयो ।

‘हामीले देशभरि रहेको गोदाममा बर्खाभरिलाई पुग्ने गरी भण्डारण गरेका छौं । अझै थप गर्न खरिद प्रक्रियासमेत थालिसकेका छौं । खाद्यान्न अभाव हुने स्थिति छैन ।’ –उहाँले भन्नुभयो ।

लिमिटेडले मुलुक बाहिरबाट भन्दा पनि मुलुकभित्रकै स्थानीय कृषकसँग खरिद गरी गोदामा भण्डारण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडसँग २ हजार ८ सय ३ दशमलब ४ सय ३९ मे. टन चिनी र १ लाख ४३ हजार ७ सय ८२ मेट्रिक टन नुन (आयात प्रक्रियामा रहेको समेत) मौज्दात रहेको छ ।

दुर्गम जिल्लामा २ हजार ४ सय ३० मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात रहेको । निजी चिनी उद्योगसँग ६३ हजार २ सय ७ मेट्रिक टन मौज्दात रहेको छ ।

लिमिटेडबाट नुन ६५ हजार ६ सय ५३ केजी, तेल ४५ हजार ६ सय ११ दशमलब ५ लिटर, चामल ५ लाख २६ हजार २ सय ८५ केजी, दाल ९३ हजार २ सय ३० केजी, चिउरा ६३ हजार ६ सय ४० केजी, चिनी १७ हजार ४ सय केजी, पिठो ७ ब्याग, साबुन ६३ हजार ८२, चिया १ सय केजी, मस्यौरा ५ सय ५० केजी गरी जम्मा ८ लाख ७५ हजार ५ सय ५८ दशमलव ५ केजी खाद्य पदार्थ र अन्य वस्तु विभिन्न पालिकाहरूलाई राहतस्वरूप बिक्री–वितरण गरिएको छ ।

निजी क्षेत्रका उद्योगहरू र व्यापारीहरूसँग पनि १ लाख मे. टन बढी खाद्यान्न मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरूसँग १ लाख २ हजार ५ सय ७० मेट्रिक टन चामल मौज्दात रहेको छ ।

मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योगमा धान ९८ हजार ५४ दशमलब चार मे. टन धान मौज्दात रहेको छ । यसै गरी कृषक तथा उद्योगहरूसँग धान मौज्दातमा रहेकाले चामल उत्पादन गर्न समस्या नरहेको मन्त्रालयको बुझाइ छ ।

निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना गरी १६ हजार ८१ मे. टन मौज्दात रहेको छ । तेल उद्योगसँग पाम आयल ४ सय ८६ दशमलब ८३ मे. टन, पामोलिन १ हजार ९ सय १९ दशमलब ७ मे. टन, सोयाबिन तेल १ हजार ६ सय १६ दशमलब ८८ मेट्रिक टन, सूर्यमुखी तेल ८ सय ४६ दशमलब ७९ मे.टन मौज्दात रहेको छ ।

त्यस्तै ६ हजार ३ सय ४६ मे. टन तेल आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ । यसै गरी कलकत्तामा ७० हजार ८ सय ६६ मे. टन तेल मौज्दात रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लाका पालिकालाई राहतस्वरूप करिब ५० हजार ४ सय ४२ दशमलब २४ क्विन्टल चामल बिक्री–वितरण गरेको छ ।