वर्षौंदेखि अड्केको स्मार्ट लाइसेन्स लकडाउनले खुलाउला ?


मधुसूदन रायमाझी, काठमाडौं ।

सवारी चालक अनुपतिपत्र (लाइसेन्स) स्मार्ट हुने भनिए पनि प्रक्रिया शुरू भएको वर्षौं बितिसक्दासमेत यातायात व्यवस्था विभागले वितरण गर्न सकेको छैन । लकडाउनको अवधिको सदु्पयोग गर्दै ‘धमाधम छपाइको काम गरिहेका’ ले छिटै पाउने सम्भावना बढेको छ ।

लकडाउन भएपछि विभागले तीन सिफ्टमा प्राविधिक जनशक्तिको व्यवस्थापन गरेर स्मार्ट लाइसेन्स छपाइको काम गरेको बताइएको छ ।

डेढ महिनाको अवधिमा विभागले १ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेको र बाँकी रहेको ३ लाख लाइसेन्ट पनि यस आर्थिक वर्षभित्र छपाइ भइसक्ने विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लकडाउनको अवधिमा नयाँ लाइसेन्स प्रिन्ट गर्ने संख्या नथपिएकाले छाप्न बाँकी रहेको लाइसेन्स धमाधम प्रिन्ट गरिरहेको बताउनुभयो । ‘अहिले दैनिक ५ हजार स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेका छौं ।’ –महानिर्देशक हमालले भन्नुभयो ।

वर्षौंदेखि ट्रायल पास गरे पनि स्मार्ट लाइसेन्स समयमा नै नपाएको र नवीकरणवालाले पनि निरन्तर कुर्न परेको गुनासो हुँदै आएको छ । हमाल भन्नुहुन्छ– ‘स्मार्ट लाइसेन्स प्रिन्टमा विभागले धेरै समय खर्च गरिसकेको छ, अब बाँकी रहेका लाइसेन्स प्रिन्ट गरेर समयमा नै उपलब्ध गराउने व्यवस्था गर्छ ।’

सरकारले सातवटै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइ गर्ने योजना अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गरेर प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने निर्णय गरेको थियो ।

२०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया शुरू भएको थियो । विभागले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स लागू गरेपछि विभाग दबाबमा छ । विभागका महानिर्देशक हमालका अनुसार चार वर्षको अवधिमा करिब १६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट भइसकेका छ । साना मेसिनले प्रभावकारीरूपमा काम गर्न नसकेपछि विभागले ‘मास प्रिन्ट’ खरिद गरेको छ ।