कालापानी निकट खडा हुँदै सशस्त्र प्रहरी चौकी


दीपक रिजाल, काठमाडौं ।

सरकारले व्यापक सरोकार र चर्चाको विषय बनेको दार्चुलाको कालापानी लिम्पियाधुरानजिकै व्यारेक रहने गरी सशस्त्र प्रहरी बलको एउटा टुकडी दार्चुलाको छाङग्रुमा राख्ने भएको छ ।प्रहरी निरीक्षकको कमाण्डमा खटिने सो टोलीलाई भारतीय सीमाभन्दा एक किलो मिटर पूर्व नेपाली भूमिमा राख्न लागिएको हो ।

भारतले नेपालको अनुमति नै नलिएर नेपाली भूभाग प्रयोग गरेर चीनसंँग सडक सन्जाल जोडेपछि नेपालमा भारतबिरोधी स्वरहरु तीव्र भएको र जनस्तरमा प्रदर्शनसमेत शुरु भएको बेला सुरक्षा व्यवस्थालाई कायम राख्न सशस्त्र प्रहरी बल त्यहाँ तैनाथ गरिएको हो ।भारतले एक पक्षीय रुपमा सडक बनाएको विषयमा नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसंँग वार्ता गर्ने तयारीमा सरकार रहेको उद्घोष गरेपनि भारत सरकारले खासै रुचि नदेखाएका कारण देशव्यापी रुपमा प्रदर्शन चर्किरहेको छ ।

नेपालका विभिन्न राजनीतिक दल तथा संघ–संस्थाले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विवादलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने माग गरिरहेका छन् ।नेपाली कांग्रेसले भारत र चीन दुवै देशसँंग वार्ता गरेर यो समस्याकोे समाधान गर्न नेपाल सरकारसंँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो राष्ट्रियतासंँग गाँसिएको विषय भएकाले तत्कालै सरकारले दुवैदेशसँंग कूटनीतिक पहल गरेर समस्याको समाधान खोज्न सरकारसंँग माग गर्नुभएको छ ।

उहांँले नेपाल समाचारपत्रसंँग कुरा गर्दै भन्नुभयो– यस समस्याको समाधानमा सरकारले आलटाले जवाफ दिएको छ, अब ढिला नगरी तत्कालै यसको समाधान गर्नेतर्फ लाग्नुपर्दछ ।राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले उक्त मुद्दालाई संयुक्त राष्ट्र संघमा लैजानुपर्ने बताउनुभएको छ भने यस्तै धारणा अन्य क्षेत्रबाट पनि प्रकट भएको छ ।

सरकारले गएको मंसिर महिनामा नै उत्तरी सीमा क्षेत्रका सात स्थान र भारतीय सीमा क्षेत्रमा एक सय सातवटा बोर्डर आउटपोष्ट राख्ने निर्णय गरेकाले अहिले त्यसलाई सशस्त्र प्रहरी बलले निरन्तरता दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणश्रेष्ठले जानकारी दिनुभयो ।

उहांँले दार्चुलाको छाङग्रुमा बिओपी स्थापना गर्न लागेको जानकारी दिदै भन्नुभयो अहिले त्यहांँ लैजाने टोलीको तयारी भइरहेको छ,तर तत्कालै आफ्नो भवन बनाउन सम्भव नभएकाले त्यहाँं घरभाडामा लिने र अन्य बन्दोबस्तीका सामान तयारी गरेको जानकारी दिनुभयो । छाङग्रुमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान खटाइने भएको छ ।

डिआईजी श्रेष्ठले भन्नुभयो– यसअघि उत्तरी सीमा क्षेत्र किमाथाङ्कामा बिओपी स्थापना भएको र त्यसपछि अन्य क्षेत्र हिल्सा, कोरोला, ओलाङचुङगोलामा पनि फौज तैनाथ गर्ने विषयमा तयारी तीव्र भएको बताउनुभयो ।गत मंसिरमा नै सरकारले बिओपी थप्ने निर्णय गरेपछि अहिले दक्षिणी सीमा क्षेत्रमा सात वटा बिओपी स्थापना भएको र अन्य स्थानमा पनि बिओपी स्थापना गर्ने तयारी भइरहेको डिआईजी श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सीमा क्षेत्रमा पठाउने सशस्त्र प्रहरी बलको जनशक्ति अभाव भएपछि गृह मन्त्रालयले भीआईपी सुरक्षामा खटिएका झण्डै दुई हजार जनशक्तिलाई त्यहांँबाट हटाएर सीमा क्षेत्रमा खटाउने तयारी गरेको छ ।गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई सोमबार मन्त्रालयमा बोलाएर भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तत्कालै फिर्ता बोलाएर सीमा क्षेत्रमा खटाउन निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।