जिल्ला अदालत काभ्रेमा ९ सय मुद्दाको ‘तारिख’ गुज्रियो

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका मुद्दाको पक्षहरुलाई दिईएको तारिखको म्याद सकिएको छ । लकडाउन लम्बिदै जाँदा तोकिएको तारिखको अवधी समाप्त भएको हो । अदालत खुलेको १० दिन भित्र तारिख लिईसक्नु पर्ने निर्णयका कारण लकडाउन खुलेपछि अदालतमा हुन सक्ने भिडभाड ब्यवस्थापन र संक्रमण फैलन नदिन रोकथामका लागि गृहकार्य शुरु गरेको छ ।

‘अदालतमा दर्ता भएका ९ सय मुद्दाका पक्षहरुले तारिखको अवधी समाप्त भएकाले फोन मार्फत जिज्ञासा राख्न थाल्नु भएको छ’–श्रेस्तेदार गोविन्द घिमिरेले भन्नुभयो–‘अदालत खुले लगत्तै तारिख लिन आउनेहरुको भिडभाड ब्यवस्थापनका लागि न्यायाधिसहरु, अदालत प्रशासन, कानुन ब्यवसायी बीच छलफल गरी समन्वयको खाका कोरिएको छ ।’

अदालतबाट नियमित हुने प्रकृया लकडाउनकै कारण अवरुद्ध भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा झण्डै ९ सय मुद्दा चालु अवस्थामा छन् भने चालु वर्षको चैत्र मसान्तसम्म ७ सय ५६ मुद्दा फैसला भएको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनु भयो । म्याद तामेल, मिसिल झिकाउने, फैसला कार्यान्वयन लगायत नियमित मुद्दाहरुको फैसलाका लागि पेशी तोक्ने काम अवरुद्ध भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

लकडाउन खुल्ला भई अदालतले नियमित सेवा शुरु गरेको १० दिन भित्र मुद्दाका सबै पक्षहरुले तारेख लिईसक्नु पर्ने ब्यवस्था अदालतले गरेको छ । लकडाउनका कारण असार मसान्त भित्र पुरा गर्नु पर्ने लक्ष्य धकेलिने संकेत देखा परेको अदालतले जानकारी दिएको छ । अदालतले तारिख तोक्दा मुद्दाका पक्षहरुको उपस्थितिमा गर्नु पर्ने प्रत्येक काम खुलाई तोक्नु पर्नेछ र प्रत्येक तारिखका दिन सम्पादन हुने काम तारिख पर्चामा खुलाउनु पर्नेछ ।

अदालतबाट कुनै कामका लागि उपस्थित हुन तारिख तोकिएकोमा तोकिएको तारिखका दिन अभियुक्त वा प्रतिवादी अदालतमा उपस्थित हुनु पर्ने ब्यवस्था छ । तर तोकिएको तारिखका दिन काबूबाहिरको परिस्थिति उत्पन्न भई अदालतमा उपस्थित हुन नसकेको कारण देखाई मुद्दाका कुनै पक्षले निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले बढीमा दुई पटकसम्म एक्काईस दिनसम्मको गुज्रेको तारिख थामिदिने आदेश दिन सक्नेछ ।

कानुन ब्यवसायीसँग परामर्श

जिल्ला अदालत काभ्रेपलाञ्चोकले लकडाउन लम्बिदा वा लकडाउन खुलिहाल्दा सेवाग्रहिलाई सहज रुपमा दिने सेवाका बारेमा कानुन ब्यवसायीसँग परामर्श गरेको छ । जिल्ला न्यायाधीश पुरुषोतम ढकालले लकडाउन पछि अदालतमा आउने सेवाग्रहीलाई सुरक्षित रुपले सेवा प्रदान गर्न अपाउनु पर्ने सुरक्षा ब्यवस्थाको पुर्व तयारी, निषेधाज्ञा सम्वन्धी ब्यवस्था, थुनुवा र प्रमाण पुगेका मुद्दाहरुको प्रकृया शुरु गर्ने सम्वन्धमा छलफल भई सेवा सुचारु गर्ने विषयमा सुझाव प्राप्त भएको बताउनु भयो ।

प्राप्त सुझावहरुलाई सर्वाेच्च अदालतमा पठाईने श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनु भयो । कानुन ब्यवसायीहरुले निषेधाज्ञा सम्वन्धी सेवा लकडाउनका कारण रोकिएकोमा खुल्ला गर्नु पर्ने धारणा राखेका थिए । श्रेस्तेदार घिमीरेले तारिख र पेशीको सूचीका लागि गृहकार्य गर्ने, स्वस्थ्यकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध गराउन पहल गर्ने, तारिख गुज्रने सेवाग्रहि एकै पटक अदालत आउँदा जटिल हुने भएकाले त्यसको ब्यवस्थापनका लागि गृहकार्य गरिरहेको बताउनु भयो ।

सरकारी वकिल लोकबहादुर कटुवाल, श्रेस्तेदार गोविन्द घिमिरे, कानुन ब्यवसायीहरु बार एशोसिएसनका जिल्ला अध्यक्ष देवकुमार मोक्तान, पूर्व अध्यक्षहरु सागर विष्ट, रमेश हुमागाई, उपाध्यक्ष विजयभक्त श्रेष्ठ, पुर्व सचिव हरिशरण दाहाल, सचिव मधुसुदन वाग्ले, अदालतका कर्मचारीहरु सहभागि थिए ।

उपसचिव श्रेस्तेदार

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पहिलो पटक उप सचिव पदका श्रेस्तेदार गोविन्द घिमीरे हाजिर हुनु भएको छ । यस अघि अदालतमा अधिकृत स्तरका कर्मचारी श्रेस्तेदार रहने ब्यवस्था थियो । घिमिरे पहिलो उप सचिवका श्रेस्तेदार हुन् ।

अदालतबाट प्रदान हुने सेवालाई थप प्रभावकारी बनाउन पहल गर्ने श्रेस्तेदार घिमिरेले बताउनु भयो । कोरोनाको संक्रमण हुन नदिई सेवालाई सहज बनाउने बताउनु भयो ।

बार एशोसिएसनको सतर्कता

नेपाल बार एशोसिएसन काभ्रे बार ईकाईले अदालत प्रवेश गर्ने सेवाग्रही, कानुन ब्यवसायी र कर्मचारीहरुका लागि स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री ब्यवस्थापन गरेको छ । अध्यक्ष देवकुमार मोक्तानले लकडाउन अवधीमा संक्रमण फैलन नदिन सचेतना अपनाईएको बताउनु भयो ।