लकडाउन नखुली भर्ना शुरु हुँदैन : शिक्षामन्त्री पोखरेल

0
Shares

काठमाडौं, नेस ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले लक डाउन नखुली भर्ना गर्न नसकिने स्पष्ट पार्नुभएको छ । पटक पटक बोली फेरिरहने मन्त्री पोखरेलले यसअघि बैशाख २६ गतेदेखि भर्ना प्रकृया शुरु गर्न निर्देशन दिने भनी बोलेको बोलीको आधार खोज्न प्याब्सन र एन प्याब्सन लगायतको टोलीले मन्त्री पोखरेललाई भेट्न पुगेका थिए ।

शनिबार बिहान शिक्षा मन्त्री निवास हरिहर भवन पुगेका प्याब्सन अध्यक्ष टीकाराम पुरी , एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा, प्याब्सन सह अध्यक्ष डीके ढुंगाना सहितको टोलीलाई भेट गर्दै मन्त्री पोखरेलले लक डाउन नखुली भर्नाको विषयमा कुरै नउठाउन आग्रह गर्नुभएको थियो ।

प्याब्सनले यही अवस्थामा अधिकांस विद्यालय बन्द हुन सक्ने भन्दै निजी विद्यालयलाई प्याकेज घोषणा गर्न आग्रह गरेका थिए ।

त्यस क्रममा मन्त्री पोखरेलले देशभरका निजी विद्यालय संकटमा पर्न सक्ने विषयमा सरकार गम्भीर भएको जानकारी दिनुभयो । मन्त्री पोखरेलले सो विषयमा उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा युवराज खतिवडासंग समेत छलफल गर्ने बताउनुभएको थियो ।

मन्त्री पोखरेलले तत्काल भर्ना खोल्नसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ–भेटको विषयमा जानकारी गराउदै एन प्याब्सनका अध्यक्ष सापकोटाले भन्नुभयो–उहाले हाम्रो कुरा सुनिरहनुभयो , जवाफ दिनुभएन । मन्त्री पोखरेलले आवश्यकताको आधारमा मन्त्रालय पुन छलफल गर्न तयार रहेको बताउनुभयो । तपाईहरुको मात्र भर्नाको सवाल होइन , झण्डै ७७ प्रतिशत सरकारी विद्यालयलाई यो भन्दा धेरै समस्या परेको छ । उहाले सबैको लागि एकै पटक भर्ना खुला हुने जानकारी दिनुभएको प्याब्सन अध्यक्ष पुरीले बताउनुभयो ।

प्याब्सनले हालसम्म अनलाईन कक्षा सञ्चालन गरिरहेको छ । सरकारले निर्णय गर्न नसक्दा भर्नाको सबै काम स्थगित भएको छ । मन्त्री पोखरेले यो विषयमा आफु समेत चिन्तामा रहेको बताउनुभयो । भन्नुभयो–विश्वव्यापी महामारीको कारण देखिएको समस्याको विषयमा सरकारलाई दोष दिनु हुदैन , सबैले मिलेर समस्या समाधान गर्नु उचित हुनेछ–मन्त्रीको भनाईबाररे जानकारी गराउदै प्याब्सन अध्यक्ष पुरीले भन्नुभयो ।