नेपालमा चिनियाँ नागरिकले नेपालको कानून मान्नुपर्छ -चिनियाँ दूतावास


न्युज अफ नेपाल, काठमाडौं ।

चिनियाँ दूतावासले शुक्रबार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ।

प्रहरीमाथि आक्रमण गरेका चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति जानकार रहेको बताएको थियो ।

विज्ञप्तिमा चिनियाँ नागरिकले नेपाल सरकारको कानून पालना गर्नुपर्ने पक्षमा चीन रहेको उल्लेख गरिएको छ। उनीहरुको मागमा भने नेपाल सरकारले ध्यान दिनुपर्ने भन्ने विश्वास लिएको जनाइएको छ। महामारीको यो संकटमा चिनियाँ स्वदेश फर्कनका लागि आतुर रहेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले ३ सय ४० जना आफ्ना नागरिकलाई स्वदेश लगिसकेको छ। सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन आग्रह गरेको छ ।