काठमाडौं, (नेस)
चीन सरकारले आइतबारसम्म उपलब्ध गराउने भनेको ४० हजार पीसीआर किटमध्ये ३० हजार किट शनिबारै नेपाल आइपुगेको छ ।
चीनको छोङछिङजियाङबेबाट हिमालय एयरलायन्समार्फत शनिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर किट लिएर आइपुगेको थियो ।
शनिबार ३० हजार पीसीआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्कलगायतका कोभिड–१९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री आइपुगेको र १० हजार पीसीआर आइतबार पनि आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।
जिल्ला जिल्लामा पीसीआर सामग्रीको अभावको विषयमा महानिर्देशक श्रेष्ठले कोभिड अस्पतालमा कतै अभाव नभएको र चाहिएजति दिन तयार भएको बताउनुभयो ।
यता हिमालय एयरलायन्सले आफ्नो कार्गो उडानमार्फत चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पन्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको जनाएको छ । विमानस्थलले हिमालयन्स एयरलायन्सले ६ हजार ८ सय ९२ केजी स्वास्थ्य सामग्री आएको उल्लेख गरेको छ ।











प्रतिक्रिया