‘लकडाउन’का कारण स्थगित भएको ठूला आयोजनाहरूको काम पुनः सुचारु


मधुसूदन रायमाझी, काठमाडौं

शहरी विकास तथा भवन निर्माण विभागले लकडाउनका कारण स्थगित भएको ठूला आयोजनाहरूको काम पुनः सुचारु गरेको छ ।
सरकारले ठूला आयोजनाहरू अगाडि बढाउने नीतिअन्तर्गत विभागले स्थगित भएका ठूला आयोजना अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको हो ।

विभागले संघीय संसद् भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास, मन्त्री क्वार्टर, प्रदेश प्रमुखको निवासको काम पुनः शुरू गराएको छ । एक महिना स्थगित भएको काम निर्माण व्यवसायीले सुचारु गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाले लकडाउनका कारण एक महिनासम्म स्थगित भएका विभागअन्तर्गतका ठूला आयोजनाको काम अगाडि बढाइएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारको निर्णयअनुसार स्थगित भएका ठूला आयोजनाको काम अगाडि बढाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छौं, निर्माण व्यवसायीलाई यसबीचमा आइपर्ने समस्याको सहजीकरण पनि गरेका छौं ।’

उहाँका अनुसार संघीय संसद् भवन, प्रधानमन्त्री निवास मन्त्री क्वार्टर, प्रदेश प्रमुखको निवास, दमकको भ्यु टावरको काम अगाडि बढाइएको छ ।

महानिर्देशक गेलालले भन्नुभयो– ‘विभागअन्तर्गत रहेका ठूला आयोजना अगाडि बढाउन निर्देशन दिएका छौं, सामाजिक दूरी कायम गरेर काम गर्न भनेका छौं ।’

आयोजना अगाडि बढाएसँगै सरकारले तय गरेको मापदण्डलाई पनि पूर्णरूपमा पालना गर्न आग्रह गरेको बताउँदै उहाँले एक महिना स्थगित भए पनि अब कामलाई तीव्रता दिनुको विकल्प नभएको बताउनुभयो ।

महानिर्देशक गेलालका अनुसार देशभर विभागअन्तर्गत ५० वटाभन्दा बढी ठूला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

विभाग लकडाउनको अवधिमा पनि ठूला आयोजनाको अनुगमन गर्दै कलडाउनका कारण प्रभावित बनेका आयोजनालाई कसरी समयसीमाभित्र सम्पन्न गर्ने भन्ने योजना तर्जुमा गर्न जुटेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत गइरहेको विशेष भवन निर्माण आयोजनाका सीडीई प्रकृण तुलाधरले संघीय संसद् भवनको काम पुनः शुरू भएको बताउनुभयो ।

उहाँले भन्नुयभो– ‘निकै तीव्र गतिमा काम अगाडि बढेको थियो, लकडाउनका कारण एक महिना स्थगित भएको काम अहिले अगाडि बढएका छांै, शुरू ४ य कामदार थिए, अहिले निर्माण व्यवसायीले कामदार ल्याएर काम अगाडि बढाएका छन् ।’

त्यसै गरी विशेष भवन निर्माण आयोजनाका सीडीई प्रमोद कर्माचार्यले प्रधानमन्त्री निवास, मन्त्री क्वार्टर र प्रदेश प्रमुखको आवास निर्माणको काम पुनः शुरू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले थोरै कामदार भए पनि निर्माण व्यवसायीले काम अगाडि बढाएका छन्, हामीले सरकारले तोकेको मापदण्डलाई पालना गर्दै थप जनशक्तिसहित काम गर्न आग्रह गरेका छौं ।’