क्वारेन्टाइनमा बसेका ८१ को बिदाइ, आरडीटी किट नभएपछि परिवारका एक सदस्यको मात्र परीक्षण

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८१ जनाको शुक्रबार विदाई गरिएको छ ।

गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा बसेका ७९ जना र करादीमा रहेका दुई जनालाई १४ दिन क्वारेन्टाइनको समय पुरा भएपछि विदाई गरिएको हो ।

विदाई भएकाहरुमा ७९ जना बारा जिल्लाको डाबर नेपाल कम्पनीमा कार्यरत रहेका छन् भने अरु दुई जना बुटवलबाट आएका छन् । विदाई भएकाहरुले आफुहरुलाई नगरपालिकाले खाने बस्ने कुरामा कुनै कमी नगरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा बस्न त्रास रहेको अवस्थामा नगरपालिकाले उद्दार गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

विदाई गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आगामी दिनमा सतर्कताका साथ घरमा नै बस्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘स्वास्थ्य वा अरु जुनसुकै समस्या भएपनि नगरपालिका तपाईको साथमा छ, कुनै समस्या परे खबर गर्नुहोला ।’नगरप्रमुख अधिकारीले पुष्प गुच्छाले उनीहरुलाई विदाई गर्नुभएको थियो ।

क्वारेन्टाइनमा बसेकाहरुमा कसैमा पनि कुनै स्वास्थ्यको समस्या नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । यसैवीच, विदाई गर्ने क्रममा र्‍यापिड डाइनोस्टीक किटको अभाव भएको छ । स्वास्थ्य कार्यालय स्याङ्जामा नै किटको अभाव भएपछि परिवारको एक जना तथा अवस्था हेरेर स्वास्थ्य कार्यालय स्याङ्जाबाट नै आरडिटि गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –‘किटको समस्या भएकाले ४६ जनाको मात्रै र्‍यान्डम्ली टेस्ट गरिएको छ ।’ टेस्ट गरिएका सबैमा रिपोर्ट नेगेटिभ आएको पनि भण्डारीले जानकारी दिनुभयो । ८१ जना बाहिरिएसँगै अब गल्याङ बहुमुखी क्याम्पसमा १४ जना मात्रै क्वारेन्टाइनमा बाँकी रहेका छन् ।