किट अभावले कोराना परीक्षण रोकियो

0
Shares

भीमदत्तनगर ।

सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।

पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

“सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पठाउने कुरो छ ।” उहाँले भन्नुभयो, “आज रातिसम्म आइपुग्ला ।”

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनमार्फत हुने कोरोना परीक्षण हुँदै आएको थियो ।

“किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको जाँचसमेत हुन सकेको छैन ।” निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले रासससित भन्नुभयो, “हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो ।

“पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ ।” उहाँले भन्नुभयो, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।”

बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको छ ।

जसमा ५५ जनाको किट अभावले परीक्षण भएको छैन भने पाँचजनाको कोरोना पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो ।

सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

“परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो ।” जोशीले भन्नुभयो, “अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।”

उहाँले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताउनुभयो ।

“१४ दिन क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ ।” उहाँले भन्नुभयो, “उहाँले किट नहुँदा समस्या भएको बताउनुभयो ।

किट अभाव हुँदा परीक्षणदेखि नमूना सङ्कलनको कामसमेत प्रभावित बन्न पुगेको छ ।

पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र र्‍यापिड टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ ।

“क्वारेन्टाइनमा बसेकाहरुको स्वाब लिएर परीक्षण गर्न बाँकी छ ।” जोशीले भन्नुभयो, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।”