कोरोना भाइरसको बेला काम लाग्ने परम्परा

डा. अरुणा उप्रेती

0
Shares

बर्दियाकी १२ वर्षीया अनिता थारुका घरमा न चर्पी छ, न साबुन । अनिताको परिवारले हातधुन खरानी र माटो प्रयोग गर्छन् । उनीहरूलाई कोरोनाभाइरसको बारेमा थाहा नै छैन ।

कक्षा ५ मा पढ्ने सोही उमेरकी सञ्जना थारु कैलालीकी हुन् । आमा नभएकी सञ्जनाका बाबु रक्सी खाएर मात्तिएपछि केही वास्ता गर्दैनन् । त्यसैले यो घरमा ‘साबुन र चर्पी’ “विलाशिता”को सामग्री बनेको छ । साबुनले हात धुनुपर्छ भन्ने थाहा छ तर घरमा साबुन नभएकोले खरानी प्रयोग हुन्छ । खरानीले ‘कोरोना’ जान्छ कि जाँदैन सञ्जनालाई थाहा छैन । तर ‘साबुन नभएपछि यही प्रयोग गर्छौं’ उनी भन्छिन् ।

बर्दिया र सुदूर पश्चिमका केही गाउँका मानिसहरूसँग मैले एक महिनाअघि सोधेकी थिएँ, “तपाईंहरूको घरमा चर्पी छ ?”
दलित बस्तीका केही समुदायका ७० प्रतिशत घरमा चर्पी नभएको, नित्यक्रिया गर्न झाडीतिर जाने गरेको र बालबालिकालाई चाहिं घर नजिकै दिसापिसाव गराउने चलन रहेको पत्तालाग्यो । साबुन चाहिं कसैकसैको घरमा भएको तर लुगाधुने साबुन मात्र भएको, हात चाहिं माटो र खरानीले धुने गरेको पाइयो ।

त्यहाँका सरकारी स्कूलमा पढ्ने किशोर–किशोरीहरुले पनि स्कूलमा भएका चर्पी पानीको अभावले अति फोहोर हुने भएकाले दिसापिसाब गर्न प्रायः जंगल जाने गरेको बताए । स्कुलमा साबुनले हातधुने त सम्भव नै रहेनछ ।

स्कूलहरूमा जाँदा शिक्षकहरुले छुट्टै शौचालय प्रयोग गर्ने र त्यो पनि ताल्चा लगाउने गरेको पाइयो । शिक्षकको शौचालयमा चाहिं मैले साबुन देखें ।

यसैगरी ज्ञान नभएर होइन शौचालय बनाउने ठाउँ नभएर जंगलमा शौच गर्न जाने गरेको, शौचालय भएपनि पानी नभएकाले प्रयोग नगरेको, फोहोर भएर गनाउने भएकाले नचलाएको, नजिकै जंगल छ घरको चर्पी किन प्रयोग गर्ने भन्ने मानिसहरु पनि भेटिए ।

यस्तो जबाफ प्रायः दलित, मुसहर र पूर्व कमैयाहरू बसोबास गरेको समुदायबाट आएको थियो । सुदूर पश्चिममा जहाँ “खुल्ला दिसा मुक्त क्षेत्र” छ त्यहाँपनि ‘छाउपडी’ मा बस्नेहरू घरमा ‘शौचालय’ भएपनि झाडीमै जान्छन् भन्ने कुरा पहिलेदेखि नै थाहा थियो ।

अहिले पनि स्थितिमा केही फरक नभएको कुरा सूदुर पश्चिमका विभिन्न भागमा जाँदा थाहा भयो ।

अहिले कोरोनाभाइरसको प्रकोपका बेलामा “बारम्बार साबुनपानीले हात धुनू” भनेर स्वास्थ्य मन्त्रालयले आह्वान गरिरहेको छ । तराईका मुसहर समुदाय, बाँके, बर्दिया र कैलालीका केही सीमान्तकृत युवाहरूलाई फोन गरेर हात केले धुनुहुन्छ भनेर सोध्दा माटो र खरानीले धुन्छौं भन्ने जवाफ प्राप्त भयो । के खरानीले कोरोनाभाइरस साबुन जतिकै गरी नष्ट हुन्छ ?

हाम्रा पुर्खाहरूले रिठ्ठाको प्रयोग गर्थे, लुगा र कपाल धुन । मलाई याद छ ५० वर्षअघि मेरी बज्यैले पनि खरानीमा लुगा उमाल्ने गर्नुहुन्थ्यो, रिठ्ठाले आफ्नो र हाम्रो कपाल पनि धोइदिनु हुन्थ्यो । मेरो मामाघर चाहिं भारतको उत्तर प्रदेशमा भएकोले त्यहाँ जाँदा मावलकी हजुरआमाले निमको पानी पकाएर हामीलाई न्वाइदिने गर्नुहुन्थ्यो ।

खरानी, रिठ्ठा र निम अहिले पनि गाउँघर ्रयोग गरिन्छन् । साबुन नभएको ठाउँमा यस्ता वस्तुहरूको प्रयोग गरेर हात सफा राख्ने कुरा पनि सिकाउन सकिन्छ कि? केही आयुर्वेदका विज्ञले निमले विभिन्न किसिमका किटाणु मार्ने तथ्यहरू देखाएका छन् । भारतकी प्रसिद्ध वैज्ञानिक डा.वन्दना शिवाले निमको बारेमा त अनेक अनुसन्धान गरेर ‘यो प्रकृतिको अनुपम उपहार हो’ भनेर एक किताब लेखेकीछन् । निमको साबुन पनि बन्छ अर्थात निमबाट बनेको साबुनले यदि ‘कोरोनाभाइरस’ लाई नष्ट गर्नसक्छ भने निमको पातको प्रयोग गर्दा पनि त्यसरी नै भाइरस नष्ट हुनसक्छ कि सक्दैन भनेर अनुसन्धान गर्न सकिन्छ ।

नीमको महत्व बारेमा यो कथाले सायद धेरै कुरा भत्र सक्छ :

अमृतको लागि देव र दानवको बीचमा युद्ध भयो । दानवको जित भयो र अमृतको घडा उनीहरुले लगे । देवताहरुलाई आपत प¥यो । “अमृत विनाको स्वर्ग के स्वर्ग ?” त्यसैले उनीहरुले कागलाई त्यो “अमृतको घडा चोरेर ल्याउन भने । कागलाई देवताले उपहार उपहारको लोभ देखाएका थिए ।

बाठो कागले पहिले गएर दानवहरुले घडा कहाँ राखेका छन् भनेर पत्ता लगायो अनि बिहानपख दानवहरु मस्तसँग सुतेको बेलामा घडा चोर्न सजिलो हुन्छ भनेर बिहान उठेर खुसुक्क घडा चुच्चोले टिपेर ल्यायो । दानवहरु कहाँबाट घडा ल्याउँदा पृथ्वीको माथिबाट उड्नु पथ्र्यो । पूरा उज्यालो नभएकोले कागले कतैकतै राम्रोसँग आँखा देखेन र घैटोबाट अलिकता अमृत छचल्किएर पृथ्वीको निमको रुखमा छरिन पुग्यो र त्यही बेलादेखि निममा अमृतका गुणहरु आए ।

पुराणको यो कथा हो, तर निमका गुणहरु हेर्दा यसले औषधिको काम गर्छ भनेर चाहिं शंका छैन । “कोरोना भाइरसलाई पनि नष्ट गर्नसक्ने क्षमता निममा हुनसक्छ”वैद्य रामदेव पण्डितले भत्रुभयो । तर यो कुरा अनुसन्धान नभईकन ठोकुवा गर्न मिल्दैन । तर, अहिलेको विषम परिस्थितिमा हाम्रा परम्परागत ज्ञानहरूको पुनरवलोकन गर्न सकिन्छ । आधुनिक चिकित्सा विज्ञानमा अहिले करोडौं डलर खर्च गरेर औषधि पत्ता लगाउने कोशिश गरिंदैछ ।

औलो र एड्सको लागि प्रयोग हुने औषधिले कोरोनाभाइरसको संक्रमण, जटिलता कम हुन्छ किभनेर ती औषधिहरू पनि प्रयोग गरिदैछ । यस्तो औषधिहरूको केही प्रभावकारिता पनि छ भनेर चिकित्सा विज्ञले भन्छ । त्यसो भएर निम, तितेपातीजस्ता सजिलै पाइने वनस्पतिहरूको प्रयोगले पनि यो भाइरसको संक्रमण कमगर्न भनेर अनुसन्धान गर्न सक्ने सम्भावना त छ तर यस्तो अनुसन्धान गर्न नेपालजस्तो ठाउँमा सरकारले नै स्रोतको व्यवस्था गर्नुपर्छ ।

व्यक्तिगत तबरबाट यो सम्भव हुँदैन । निम, बकाइनो, बेसार आदि तत्वहरूको प्रयोगले गर्दा रोगसँग लड्ने शक्ति, रोग प्रतिरोधात्मक शक्ति चाहिं पक्कै बढ्छ । यसै कारणले होला, भारतको आयूष मंत्रालयले बेसार, कालो मरिच आदिको प्रयोग गर्नु भनेर सल्लाह पनि दिएको छ ।

नेपालमा खरानीले हातधुने वर्ग सबैलाई एकैचोटि साबुन पु¥याउन सम्भावना नहोला, तर हामीसँग भएका परम्परागत ज्ञानको प्रयोग पनि गर्न सकिन्छ, यसले बेफाइदा चाहिं गर्दैन भत्रे त विश्वास गर्न सकिन्छ । नेपालको सिंहदरबार, वैद्य खानामा भएका तमाम ज्ञान समुदायमा बाँड्न सकिन्छ । आधुनिक औषधिको अनुसन्धान गर्न मिल्छ भने परम्परागत ज्ञानको अनुसन्धान गर्न किन नमिल्ने ?