भारतको तमिलनाडुमा झापाका ८० जना अलपत्र

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापाको कचनकवल गाउँपालिकाका ८० जना नेपाली नागरिक भारतको तमिलनाडुमा अलपत्र परेका छन् । साबिक केचना १, २, ३ र ४ हाल कचनकवल गाउँपालिका ४ केचनाका ८० जना नेपाली नागरिक अलपत्र परेका हुन् । भारतको तमिलनाडु राज्यको त्रिपुरा भन्ने स्थानका उद्योगहरूमा काम गर्न गएका थिए । रोजगारीका सिलसिलामा भारतको तमिलनाडु गएका उनीहरू कोरोना त्रासपछिको लकडाउनले त्यहाँ अलपत्रमा परेका छन् ।

अलपत्र परेका नेपाली नागरिकलाई त्यहाँको सरकारले खाना तथा बस्नका लागि उचित व्यवस्थापन नमिलाउँदा थप समस्या परेका छन् । झापा घर फर्काइ दिन उनीहरूका आफन्तजनले तीनै तहका सरकारसमक्ष आग्रह गर्दै आइरहेका छन् ।

अलपत्र परेका कचनकवलका ओम नारायण माझीले नेकपाका कचनकवल ४ नम्बर वडा इन्चार्ज पुण्य भण्डारी (रोहित)लाई फोन सम्पर्क गर्दै नेपाली नागरिकको दयनीय अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सरकारले महिना दिनसम्म खाना व्यवस्था गरेपनि विगत एक हप्तादेखि खानाको व्यवस्था नगरेको उहाँको भनाइ छ । उद्धार गरी नेपाल सरकारले घर फकाई दिनु हुन उहाँहरुको माग रहेको भण्डारीले बताउँनुभयो ।

माझीले तमिलनाडुमा अलपत्र परेका ८० जना नेपाली नागरिकको नामावलीसहित सम्पर्क नम्बर समेत पठाएका छन् । अलपत्र परेका नागरिकको उद्धारका लागि पहल सुरु गरिसकेका छन् । त्यस्तै नेकपाका कचनकवल गाउँपालिका इन्चार्ज तेजेन्द्र मैनालीले उनीहरूको नामावली फेसबुकमा पोस्ट गर्दै उद्धारका लागि सामाजिक सञ्जालबाटै अपिल गर्नुभएको छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले पनि उनीहरुको उद्धारका लागि पहल गरिरहेको बताउँनुभयो ।