उपत्यका भित्रिने मुख्य नाकामा अनुगमन शुरू

एम्बुलेन्स चेक–जाँचमा कडाइ


नेपाल समाचारपत्र, काठमाडौं ।

मुख्य नाका र चोरबाटो प्रयोग गरेर विभिन्न नाका हुँदै उपत्यकामा यात्रु भित्रिने क्रम बढ्न थालेपछि सरकारले ती स्थानमा अनुगमन शुरू गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उपत्यका भित्रिने सवारीसाधनको कडाइ गर्ने निर्णयगलत्तै उपत्यकाका दुई महानगरपालिकासहित सबै स्थानीय तहले अनुगमन शुरू गरेका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोलीले नाकामा अनुगमन गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बुधबार नागढुंगा, भीमढुंगालगायत विभिन्न नाका अनुगमन गरी अत्यावश्यक कामबाहेक कुनै पनि काम लिएर उपत्यका प्रवेश गर्ने यात्रुलाई पँर्णरूपमा रोक लगाइएको जानकारी दिनुभयो ।

तीन दिनदेखि लगातार नाका अनुगमनमा निस्किएको टोलीले करिब ५ सय सवारीसाधनलाई फर्काइसकेको छ । एक दर्जन नाका हुँदै उपत्यकामा यात्रु भित्रिन थालेपछि प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कार्यालय र विशेष गरी सीमाका प्रहरीलाई कडाइ गर्न निर्देशन दिइसकेको छ ।

स्थानीय निकायसहितको टोलीले उपत्यका आउने नाका नागढुंगा, फर्पिङ, नाङ्लेभारे, गल्छी, नाला, जगाते, मुड्खु, भीमढुंगा, नाला, चापागाउँ, कात्तिकेलगायतका सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालान गरिसकेको छ ।

महाशखा प्रमुख ढकालले सीमा र राजधानीको सुरक्षा गर्न एक सिफ्टमा ७ सय ४५ जना ट्राफिक प्रहरी परिचालन गर्ने गरेको जानकारी दिनुभयो । नेपाल र सशस्त्र प्रहरीले छुट्टै प्रहरी परिचालन गरेको छ । त्यस्तै मुख्य नाकामा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

उपत्यका बस्दै गरेका नागरिक दैनिकरूपमा अत्यावश्यक सवारीसाधनको दुरुपयोग गरी धमाधम भित्रिन थालेपछि सरकारले उपत्यकालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन अनुगमनलाई कडा गरेको हो । ट्राफिक प्रहरीले आजबाट राजधानीको सवारी व्यवस्थामा थप कडाइ गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ आज काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवा पुग्नुभएको छ ।
काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिस आउन थालेको खबर बाहिरिन थालेपछि अवस्थाका विषयमा जानकारी लिन उहाँ नागढुंगा हुँदै खत्रीचोक पुग्नुभएको हो ।

लकडाउनमा कडाइ गरेपछि नागढुंगा नाकामा परिचालित सुरक्षा निकायले उपत्यका भित्रिने सवारीसाधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सोमबार उपत्यका भित्रन खोजेका ३७ र मंगलबार १ सय ३ वटा लाई फर्काएको बताउनुभएको थियो ।

 

एम्बुलेन्स चेक–जाँचमा कडाइ

लकडाउनको समयमा एम्बुलेन्सले बढी रकम लिएर यात्रु ओसार्न थालेको गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेक–जाँचमा कडाइ शुरू गरेको छ ।

विभिन्न जिल्लाबाट बिरामी लिएर काठमाडौं आएका एम्बुलेन्स गन्तव्यतिर फर्कंदा मोटो रकम लिने गरेको गुनासो आएपछि चेकजाँच शुरू गरेको हो ।

महाशाखा प्रमुख ढकालले अबदेखि एम्बुलेन्सले बिरामी, एक जना आफन्त र सहचालकबाहेक अन्य बोक्न नमिल्ने गरी निर्णय गरेको जानकारी दिनुभयो ।

‘एम्बुलेन्समा अनधिकृत मान्छे राखेको, बढी रकम लिएर यात्रु बोकेका र विभिन्न सामानसमेत ढुवानी गरेको जानकारी पाएपछि कडाइ गरेका हौं ।’ –एसएसपी ढकालले भन्नुभयो । पछिल्लो समय एम्बुलेन्सको दुरुपयोग बढ्न थालेपछि सरकारले समेत एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनमा चेक–जाँचमा कडाइ गरेको हो ।

ट्राफिक प्रमुख ढकालले भन्नुभयो– ‘एम्बुलेन्स मात्र होइन अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनमा समेत तीन जनाभन्दा बढी चढ्न नपाइने व्यवस्था गरेका छौं ।’

प्रहरीले आज बिहीबारबाट अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सको समेत चेक–जाँचमा कडाइ गर्ने भएको छ । उपत्यकामा सवारी भित्रिने सबै नाका र उपत्यकाका सडकमा समेत ती सवारीसाधानको चेक–जाँच गर्ने व्यवस्था मिलाएका छौं ।’ –ढकालले भन्नुभयो । उपत्यकामा कोरोना संक्रमण बढ्न सक्ने खतरा बढेपछि सुरक्षा निकायले बढी सतर्कता अपनाएको छ ।