जोखिममा रहेका भूकम्पपीडितलाई जग्गा


नेपाल समाचारपत्र, काठमाडौं ।

विनाशकारी भूकम्पका कारण जोखिममा रहेको बस्तीका ४ हजारभन्दा बढी भूकम्पपीडितलाई जग्गाको व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पका कारण बस्ती जोखिममा परी स्थानान्तरण गर्नुपर्ने भूकम्पपीडितलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था गरिएको हो ।

प्राधिकरणका अनुसार भूकम्पकै कारण पहिरो, बाढीलगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले आवास पुनर्निर्माणका लागि जग्गाको व्यवस्था गरेको हो ।

भूकम्पका कारण जोखिमयुक्त अवस्थामा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । ‘भूकम्पकै कारण चिरा परी बस्ती असुरक्षित र पहिरोको जोखिमले थप असुरक्षित भएका बस्तीको पहिचान गर्दै भूकम्पपीडितलाई सुरक्षित बासस्थान दिन जग्गाको व्यवस्था गरिएको हो ।’ –उहाँले भन्नुभयो ।

प्राधिकरणले बनाएको कार्यविधिअनुसार भूकम्पपीडितलाई जग्गाको व्यवस्था गरी आवास निर्माणमा सघाइरहेको उहाँले बताउनुभयो । भूकम्पले गर्दा गोरखा, धादिङ, ललितपुर, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानका बस्ती बस्न अयोग्य भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब गरी ३ खर्ब ८१ अर्ब खर्च गरिसकेको जनाएको छ ।

त्यस्तै गरी भूकम्पपीडितबाहेक भूमिहीन तथा सुकुम्बासी ८ हजार ७ सय ४४ लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाएको छ ।

प्राधिकरणले अहिलेसम्म ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको जनाएको छ । ‘त्यसमध्ये हालसम्म नौवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २७ वटा निर्माणाधीन छन् । –प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो ।